ट्रक र कार ठक्कर खाँदा दुई जनाको मृत्यु, तीन घाइते

March 24, 2021 7:44 pm

चितवन : मुग्लिन नारायणगढ सडक खण्डको महानगरपालिका वडा नं २९ स्थित दासढुङ्गामा बुधबार बेलुकी ४ः२५ बजे आइचर ट्रक र कार ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आइरहेको बा२१च ६८५९ नम्बरको कार एक आपसमा ठक्कर खाएको थियो ।

उक्त दुर्घटनामा कारमा सवार चालकसहित ५ जना घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ ल्याउँदै गर्दा दुई जनाको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिसपी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

मृत्यु हुनेमा तनहुँको स्याम्घा नगरपालिका ४ बस्ने वर्ष २८ का धर्मराज गौली र कास्कीको लेखनाथ नगरपालिका बस्ने वर्ष ३१ का रामकृष्ण भुजेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते हुने कार चालक लमजुङको मध्यनेपाल नगरपालिका ७ बस्ने वर्ष ४२ को पदम सापकोटा, स्याङ्जा बिरुवा गाउँपालिका ३ बस्ने वर्ष ४२ का प्रसाद थापा र मध्यम घाइते हुने तनहुँको व्यास नगरपालिका ६ बस्ने वर्ष ४० को जसमान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रवक्ता थापाले बताए ।

दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।