प्रेस संगठन हटाएर प्रेस चौतारी

March 15, 2021 10:38 pm

चितवन,फागुन २
नेपाल कम्युनिष्ट पार्टी एमाले निकट पत्रकारहरुको संगठनले आफ्नो कार्यालयको बोर्ड परिवर्तन गरेको छ । पार्टी नेकपा हुँदा प्रेस संगठनको नाममा काम गर्दै आएको संगठनले पार्टी नेकपा एमाले बनेसँगै प्रेस चौतारी नेपालका नाममा बोर्ड राखेको हो ।

यससँगै साविक प्रेस चौतारी नेपाल जिल्लामा पुनः सक्रिय भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित दुरसञ्चार रोडमा कार्यालय स्थापना गरिएको छ । आज सोमबार कार्यालयमा बोर्ड परिवर्तन गर्नुका साथै संगठनका गतिविधिका विषयमा छलफल गरिएको जिल्ला संयोजक सुवास पण्डितले जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपाल चितवन शाखामा संयोजक र सहसंयोजक तोकिएपछि संगठनका कामलाई तीब्रता दिईएको बताउँदै उहाँले भन्नुभयो “संगठनलाई पत्रकारहरुको अपनत्व हुने गरी अगाडि बढाउँछौं ।”

संगठनका जिल्ला सह संयोजक कृष्ण आचार्यले प्रेस चौतारी अब संस्थागत रुपमा अघि बढ्ने बताउनुभयो । उहाँले विगतमा चौतारीमा गोलबन्ध रहेका सबैलाई पुनः मूल घरमै फर्किएर एक ढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभयो । आगामी दिनमा प्रेस चौतारीका सबै गतिविधि कार्यालय मार्फत हुने जानकारी दिंदै भन्नुभयो “कार्यालय स्थापनासंगै झोलामा कार्यालय राख्ने परिपाटीको अन्त्य भएको छ ।

सो अवसरमा प्रेस चौतारी नेपालको वागमती प्रदेश स्तरीय भेलामा जिल्लाबाट सक्रिय सहभागिता जनाउने सम्पूर्णलाई धन्यबाद ज्ञापन गरिएको थियो । प्रेस चौतारी चितवनको आयोजनामा छिट्टै जिल्ला भेला र वनभोज कार्यक्रमको समेत आयोजना गर्ने तयारी गरिएको आचार्यले बताउनुभयो ।

सो अवसरमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह–संयोजक शिशिर सिंखडा, पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, प्रेस चौतारी नेपालको वागमती प्रदेश कमिटी सदस्यहरु तिलकराम रिमाल, प्रतिमा शिलवाल, रामकान्त पौडेल, लक्ष्मण गौतम, मनोज घिमिरे, शान्ता अधिकारी, अग्रज पत्रकार सुरेश कुमार अधिकारी, नवराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।