राजसंस्थालाई पाखा लगाएर जनताले के पाए? लोकतन्त्रको आवरणमा लुटतन्त्र मच्चिरहेको छ – कमल थापा

September 24, 2018 11:36 am

गत जेठ महिनामा वीरगन्जमा सम्पन्न पार्टीको केन्द्रीय परिषदको बैठक राप्रपाको इतिहासमा एक महत्त्वपूर्ण कोसेढुंगाको रूपमा रहेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पार्टीले भोग्नु परेको अप्रत्याशित र निराशाजनक परिणामको पृष्ठभूमिमा भएको उक्त केन्द्रीय परिषदको बैठकले पार्टीमा नयाँ रक्त सञ्चार र थप ऊर्जा प्रदान गरेको मेरो अनुभूति रहेको छ। सो बैठकले देशको विद्यमान परिस्थितिको विश्लेषण गर्दै तयार गरेको कार्यदिशा र मार्गदर्शनले पार्टीलाई पुनः अग्रणी राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने स्पष्ट मार्ग चित्र तयार गरेको छ। निर्वाचनमा पराजयको बाबजुद पार्टीले अवलम्बन गरेको सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सशक्त स्थानीय स्वायत्त शासन प्रणाली सम्बन्धी बिचारको महत्व र औचित्य समाप्त भएको छैन भन्ने दृढ विश्वास र पराजयलाई ईखको रूपमा लिएर पार्टीलाई केही वर्ष भित्रमा नै बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प उक्त केन्द्रीय परिषदको सबैभन्दा उल्लेखनीय सन्देश हो। केन्द्रीय परिषद् बैठक पछि पार्टी संगठनमा सक्रियता देखिएको मात्र होइन मुलुकको समग्र परिस्थिति समेत पार्टी र पार्टीले अवलम्बन गरेको विचार एवं मार्गचित्रका निमित्त समेत अनुकूल बन्दै गइरहेको छ। यो यथार्थ हाम्रो निमित्त सन्तोष र उत्साहको विषय हो।संविधान निर्माण र सबैतहको निर्वाचन समाप्त भएपछि देशमा राजनीतिक स्थिरता कायम हुन्छ र मुलुकको समग्र ध्यान सुशासन र आर्थिक विकास तर्फ केन्द्रित हुनेछ भन्ने आम नेपाली जनताको अपेक्षा र विश्वास रहेको थियो। हामीले दुई दशक भन्दा बढी समय कथित हिंसात्मक जनयुद्ध तथा अस्थिर र अराजककतापूर्ण संक्रमणमा बितायौँ। करिब १७ हजार भन्दा बढी नेपालीको ज्यान गयो, देशले अरबौं रुपैंयाको नोक्सानी ब्योहर्नु पर्‍यो र ठुलो सामाजिक, सांस्कृतिक अस्तव्यस्तताको मूल्य चुकाउनु पर्‍यो।