ब्रोकर लाइसेन्समा पन्छदै बैंक

September 20, 2018 3:55 pm

काठमाडौं/ छुट्टै सहायक कम्पनी खोलेर मात्र लाइसेन्स पाउने ब्यवस्था भएपछी बैंकहरु सेयर ब्रोकरको लाइसेन्सलिन हच्किएका छन । धितोपत्र बोर्डले बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिन सकिने धारणा व्यक्त गर्नासाथै उत्साहित भएका बैंकहरु अहिले ब्रोकर लाइसेन्सबारे चासो दिन छाडेका छन । यसअघि आफ्नो सहायक कम्पनीको रुपमा रहेको मर्चेन्ट बैंकरमार्फत नै ब्रोकरको काम गर्न चाहेका बैंकहरुले अब सहायक कम्पनीको रुपमा ब्रोकरको काम गर्नुपर्ने भएपछी चासो दिन छाडेका हुन ।
बैंकबाट सेयर ब्रोकरको सेवा दिने गरी आफ्नो नियमावली संहोधन गराउने सबैभन्दा पहिलो बैंक मेगा बैंक नेपाल हो । तर अहिले मेगा बैंकले नै यसबारे चासो दिन छाडेको छ । मर्मेन्ट बैंकिङको लागि मेगा क्यापिटल सन्चालनमा ल्याउने तयारी गरिरहेको सो बैंकले ब्रोकर कामको लागि अर्को सहायक कम्पनी खोल्ने चासो दिएको छैन । बैंकका प्रवक्ता समेत रहेका डिजिएम महेशप्रसाद ढकालका अनुसार छुट्टै सहायक कम्पनी खोल्नुपर्ने कुरा आएका कारण यसबारे बैंकले कुनै निर्णय गरेको छैन ।
राष्ट्र बैंकले ब्रोकर सेवाको लागि केके व्यवस्था हुनुपर्ने भन्नेबारे निर्देशिका ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकको प्रष्ट निर्देशिका आइसकेपछी मात्र बैंकहरुले यसबारे निर्णय दिनेछन । तर ठुलो पु“जी राखेर ठुलो कम्पनी खोल्ने र सामान्य रुपमा सेयर कारोवार गरेर मात्र कम्पनी चलाउन सकिने अवस्थामा बैंकहरु छैनन । बजार सुस्त रहेको अवस्थामा पुराना ब्रोकर कम्पनीहरु समेत सन्चालन खर्च उठाउन सकिरहेका छैनन । यस्तो अवस्थामा बैंकहरु पनि घाटाको व्यापारका लागि ब्रोकर लाइसेन्सका लागि करोडौं खर्च गर्न तयार देखिएका छैनन ।
बैंकले ब्रोकर लाइसेन्स लिएर कारोवार गर्ने र मुनाफा कमाउने भन्ने कुरा अहिलेका लागि गफ गर्ने मेलो मात्र भएको एनआईबिएल क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाको तर्क छ । थापाका अनुसार बैंकहरुले ब्रोकर लाइसेन्स लिएपछि सबै साखाहरुबाट सेयर किन्न बेच्न पाइने भयो भन्ने सोचेका कारण यस्तो उत्साह थपिएको हो । तर वास्तवमा त्यस्तो हैन । बैंकहरुलाई तुरुन्त ब्रोकर लाइसेन्स दिए पनि चलाउन सहज छैन । किनकी बैंकहरुलाई ब्रोकरेज सर्भिसको आइडिया छैन र उनीहरुको प्राथमिकता पनि यसमा छैन । बैंकहरुले गर्ने भनेपछि आन्तरिक सिस्टमदेखि कर्मचारी अनि अन्य गाइडलाईन मिलाउन नै धेरै समय लाग्छ ।
बैंकहरु अहिले ३÷४ अर्व कमाउने भैसकेका छन । यस्तोबेला एक करोड पनि कमाउन मुश्किल पर्ने ब्रोकर विजनेस उनीहरुको प्राथमिकतामा पर्दैन । ५० लाख क्यापिटल भएको ब्रोकरलाई २ करोड राम्रो नाफा हो । तर ८ अर्व क्यापिटल भएको बैंकलाई २ करोड नाफा खासै केही हैन । यसर्थ पनि बैंकहरुको चासो हराएको छ ।
थापाका अनुसार ब्रोकरको काम रिस्क धेरै भएको काम हो । यसमाथि ठुलो लगानी गरेर छुट्टै कम्पनी खोलेर लाइसेन्स लिएर सो काम गर्दा बैंकले खास फाइदा पनि गर्न सक्दैन । यसर्थ तत्कालका लागि बैंकहरु ब्रोकर लाइसेन्सको चासोमा भभन्दा अन्य बिजनेसतिर बढी फोकस भैरहेका हुन ।
नेपालमा सेयर ब्रोकरको काम व्यक्तिगत सम्बन्ध र विश्वासको आधारमा भैरहेको छ । बैंकहरुले उधारो बिश्वासमा काम नगरिदिने हुनाले बैंकले चलाएको ब्रोकरमा लगानीकर्ताहरु चासो रहन्न । विकल्प भएसम्म उधारोमा सेयर किन्न नै चाहन्छन । यसर्थ पनि बैंकहरुलाई ब्रोकरको काम जिम्मा लिएर खासै फाइदा हुनेगरी विजनेस गर्नसक्ने अवस्था छैन ।
थापाको भनाई अनुसार अहिले भैरहेका ब्रोकर कम्पनीहरुmलाई व्यवस्थित र व्यवशायीक बनाउनका लागि बैंकहरुस“ग सहकार्य वा साझेदारी गराएमा भने बजार बिस्तारको लागि छिटो काम गर्न सकिन्छ । यसबारे धितोपत्र बोर्डले छलफल समेत गरेको छैन ।
डा. रेवत बहादुर कार्की धितोपत्र बोर्डको अध्यक्ष भएदेखि नै बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने चर्चा चल्यो । डा. कार्कीले एउटा कार्यक्रममा सेयर बजारको विकासका लागि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिएर काम लगाउन सकिए मात्र बजारलाई चाडो बिस्तार गर्न सकिने धारणा राखेसगै यसको चर्चा शुरु भएको थियो । यसबारे बोर्डले कुनै औपचारिक छलफल र निर्णय समेत गरेको थिएन । त्यति नै बेला ब्रोकरहरु भने बैंकलाई लाइसेन्स दिन नहुने भन्दै बिरोध र लबिङ शुरु गरे । ब्रोकरको लबिङकै कारण नेप्सेले बैंकलाई लाइसेन्स दिन नसकिने भन्दै एउटा प्रतवेदन समेत तयार पा¥यो । स्मरण रहोस, पुराना ब्रोकर कम्पनीहरुमा नेप्सेका अधिकांश पुराना कर्मचारीहरुको सेयर हिस्सा छ ।
नेप्सेले राष्ट्र बैंकको नियम देखाएर बैंकलाई लाइसेन्स दिन नसकिने जनाए पनि राष्ट्र बैंकले भने मौद्रीक नीतिमार्फत नै यसबारे बाटो खोलिदिएको छ । हुन त राष्ट बैंक पनि बैंकलाई लाइसेन्स दिने बिषयमा सकारात्मक थिएन । पुराना ब्रोकरहरुको लबिङ राष्ट बैंकसम्म नपुग्ने कुरै भएन । तर लगानीकर्ताहरुको दवाब र अर्थ मन्त्रालयको जोडबलमा राष्ट बैंकले बाटो खोलिदिएको हो ।
चालु आर्थिक बर्षको मौद्रिक नीतिमा बैंकलाई ब्रोकर लाइसेन्स दिने बिषय उल्लेख भएपछि बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिनुपर्छ भन्दै लबिङमा लागेहरुमा उत्साह थपियो । तर मौद्रिक नीति कार्यान्वयनमा आएको २ महिना बित्न लागेपछि बैंकले कसरी सेयर ब्रोकरको काम गर्छन् भन्ने अझै प्रष्ट भएको छैन ।
स्रोतका अनुसार बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा नेपाल राष्ट्र बैंक खासै सकारात्मक थिएन । तर, अर्थसचिब डा. राजन खनालले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने भन्ने मन्त्रालयको लाइन रहेकोले सो बिषय समाबेश गर्न जोड दिएपछि मौद्रिक नीतिमा सो बिषय समावेश भएको स्रोतको दाबी छ ।
नीतिमा आएपनि त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने अझै स्पष्ट भएको छैन । धितोपत्र बोर्ड बैंकलाई ब्रोकर लाइसेन्स दिन हतारिएर बसेको छ भने राष्ट्र बैंक यसमा थप गृहकार्य आवश्यक रहेको बताउन थालेको छ । तर बैंकहरुले भने चासो दिन छाडेका छन ।
बैंकले सेयर ब्रोकरको लाइसेन्स लिएर काम गर्ने हो भने बैंकसँग अहिले भएका संयन्त्र वा संस्थाले सो काम गर्न नपाउने राष्ट्र बैंकले प्रष्ट पारिसकेको छ । ‘बैंक वा अहिले बैंकसँग सहायक कम्पनीको रुपमा रहेका मर्चेन्ट बैंकरलाई सेयर ब्रोकरको काम दिन सकिदैन भनेर राष्ट्र बैंकले प्रष्टसँग भनिसकेको छ, बैंकहरुले अर्काे सहायक कम्पनी खोलेर सेयर ब्रोकरेजको काम गर्छु भन्दा मात्रै पाउने अबस्था रह्यो,’ धितोपत्र बोर्डका एक अधिकारीले भने ।
बैंकलाई सेयर ब्रोकरको अनुमति दिनको लागि निर्देशिका जारी गर्ने तयारी भैरहेको राष्ट बैंकले जनाएको छ । धितोपत्र बोर्डले भने राष्ट बैंकको सर्कुलर कुरेर बसिरहेको जनाएको छ । यसअघि नै छुट्टै सहायक कम्पनी चाहिने भन्ने कुरा आइसकेका कारण बैंकहरु हच्केका हुन । किनकी बैंकहरु सन्चालनमा रहेको आफ्नो सहायक कम्पनी मर्चेन्ट बैंकरमार्फत नैं ब्रोकरको काम गराउने योजनामा थिए
अब राष्ट बैंकले यसबारे नियमावली बनाएर पारित गरेस“गै सहायक कम्पनी खोल्ने, त्यसको स्विकृति र लाइसेन्स लिने, यसबारे सबै कानुनी प्रक्रिया पुरा गर्न साधारणसभाबाट पारित गर्ने त्यसपछी कार्यालय लगायतका प्रक्रिया अनि कर्मचारीदेखि लिइर यावत कुराहरु गर्दा अझै केही बर्ष बैंकले ब्रोकर लाइसेन्स पाउने र सन्चालनमा आउने कुरा टाढै रहेको अनुमान गर्न सकिन् छ ।
सहायक कम्पनी स्थापना गर्नुपर्ने भएपछि त्यस्तो कम्पनीको चुक्ता पुँजी कति राख्ने भन्ने बिषयमा अहिले प्रारम्भिक छलफल चल्न थालेको छ । धितोपत्र बाृर्डले यस्तो सहायक कम्पनीको पु“जी १० करोड हुनुपर्ने प्रस्ताव राखेको जनाइएको छ । यदी बैंकको सहायक कम्पनी १० करोडको भएमा पुराना ब्रोकरहरुलाईपनि पुजी बृद्धी गर्न लगाएर सोही बराबर पुराउने योजनामा बोर्ड छ ।
यस्तै सेयर खरिद विक्रीको लागि ठूलो परिमाणमा तरलता आवश्यक हुने भएकोले त्यस्तो तरलता बैंकहरुले कसरी ब्यवस्थापन गर्छन् भन्ने अर्काे प्रश्न पनि खडा भएको छ । कम्पनी स्थापनाकै लागि ठुलो लगानी, त्यसपछी सन्चालनका लागि समेत ठुलो रकमको जोहो गर्दा बैंकहरुले यसबाट मुनाफा कमाउने संभावना खासै देखेका छैनन । हालका लागि ब्रोकरको काममा मुनाफा नहुने भए पनि पछीका दिनमा हुनसक्ने भएकाले प्रक्रिया शुरु गर्ने मेगा बैंकका ढकाल बताउछन ।
(३१ भाद्रको सेयर बजार साप्ताहिकमा प्रकाशित)