राष्ट्रिय बीमाको अडिट विवादले अन्योल

September 20, 2018 3:51 pm

काठमाडौं/ राष्ट्रिय बीमा कम्पनीको १२० प्रतिशत बोनस सेयरको अन्योलका कारण सेयर बजारमा ठुलो चलखेल देखिएको छ । एकदिन सर्किट लागेको घटेको सो कम्पनीको सेयर भोलिपल्ट अर्कै सुचना आएसगै बढेको थियो । सरकारी स्वामित्वको सो कम्पनीको लाभांश घोषणा मै गम्भीर त्रुटी भएको खुलाशा भएको छ।

कम्पनीले आर्थिक बर्ष २०६३/०६४ देखि ०६८/0६९ सम्म गरि एकसाथ ६ आर्थिक बर्षको १२० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताब गरेको थियो। तर कम्पनीको २०७४ फागुन १० मा बसेको संचालक समितिको बैठकले गरेको १२० प्रतिशत लाभांश प्रस्ताब नै निर्देशन बिपरित भएको पाइएको छ।
२०६३÷६४ देखि २०६९÷७० सम्मको हिसाब फरफारक नभएसम्म कुनै पनि किसिमको सुविधाको घोषणा नगर्न बीमा समितिको निर्देशन बिपरित कम्पनीले बोनस घोषणा गरेको पाइएको छ । बीमा समितिले कम्पनीको वित्तीय विवरणमा त्रुटी देखिएकाले उनीहरुलाई २०६९÷७० सम्मको हिसाब फरक फारक नहुँदासम्म कुनै सुविधा घोषणा नगर्न एक बर्ष अघि नै निर्देशन दिए पनि कम्पनीले अटेर गरी लाभांश घोषणा गरेको थियो ।

सेयरधनीलाई गलत सुचना दिएर लाभांश घोषणा गरी सो कम्पनीको सेयर मुल्य प्रतिकित्ता १५ हजारसम्म पुराइएको थियो । थोरै सेयर मात्र बजारमा रहेका कारण यसको सेयर मुल्यका कर्नरीङ हुने गरेको छ । केही सिमित व्यक्तिको होल्डमा सेयर रहेका कारण उनीहरुले आफु अनुकुल हल्ला चलाएर मुल्य घटाउने बढाउने गर्ने गर्छ । अहिले बोनसको बिषयमा पनि त्यस्तै भएको छ ।
कम्पनीले भने बीमा समितिको एक बर्ष अघिको निर्देशनको अवज्ञा गर्दै गत फागुन १० गते ६ आर्थिक बर्षको १२० प्रतिशत बोनस सेयर घोषणा गरेर सेयरधनीलाई ’मुर्ख’ बनाउने काम गरेको थियो । बाड्नै नपाउने बोनस घोषणा गरेर सेयर मुल्यलाई प्रभाब पार्न खोजिएकोबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिर बिक्रम रायमाझीले २०६९÷७० को वित्तीय विवरणमा मात्र त्रुटी देखिएकाले आगामी साधारणसभामा लाभांश प्रस्ताब नलगिएको जवाफ दिए।
बीमा समितिको निर्देशन बिपरित लाभांश घोषणा गरेर सेयर लगानीकर्तालाई ’झुक्याएको यस कम्पनीको पछिल्लो निर्णय समेत विवादमा मुछिएको छ। सेयरमुल्यलाई प्रभावित पार्ने कुनै पनि निर्णय तत्काल नेप्सेमा जानकारी गराउनु पर्ने प्राबधान छ। तर कम्पनीले भने संचालक समितिले गरेको निर्णय भोलि पल्ट मात्रै नेप्सेमा जानकारी गराएको थियो ।
सेयरमुल्यलाई प्रभावित पार्ने निर्णय भएमा तुरुन्तै रियल टाइममा नै नेप्सेको वेबसाइटमा सूचना अपलोड गर्नुपर्ने अभ्यास बिपरित राष्ट्रिय बीमा कम्पनीले दोस्रो दिन नेप्सेमा हार्डकपि पठाएर जानकारी दिएको छ । आगामी साधारणसभामा लगिने प्रस्ताबबारे संचालक समितिले भदौ २५ मा गरेको निर्णयको हार्ड कपि भदौ २६ मा मात्र नेप्से कार्यालय पुगेको थियो । जबकी यसअघि नै एउटा अनलाईनले यसबारे समाचार छापिसकेको थियो । समाचार आएसगै बजारमा सो कम्पनीको सेयर मुल्य अत्यधिक घटेको थियो ।
कम्पनीका अधिकारिहरुले भदौ २५ गते भएको संचालक समितिको निर्णय कम्तिमा पनि भदौ २६ को कारोबार समय अगाबै नेप्सेमा पठाउनु पर्थ्यो भने सोहि दिन कुनै एक राष्ट्रिय दैनिक पत्रिकामा उक्त सूचना छपाउनु पर्थ्यो। तर कम्पनीले नेप्सेमा मात्र ढिलो गरि सूचना पठाएको छैन, संचालक समितिको निर्णय गोरखापत्रमा समेत भदौ २७ गते छाप्ने गरि नोटिस पठाएको खुल्न आएको छ। सूचना प्रवाहमा गरेको गल्तिका कारण पहिलो दिन कम्पनीका सेयरधनीहरुले प्रति कित्ता ७६८ रुपैयाँ गुमाएका छन ।
स्रोतका अनुसार राष्ट्रिय बीमा कम्पनीले विभिन्न आर्थिक वर्षको गरी झण्डै ८० करोड रुपैयाँ बराबरको सस्पेन्स एकाउण्टको हिसाब मिलान गर्न बाँकी छ । स्रोतका अनुसार आर्थिक वर्ष २०७२÷७३ सम्मको लेखापरीक्षण भने पुरा भएको छ । तर सस्पेन्स एकाउण्टको हिसाब नमिलेका कारण २०६८÷६९ पछिका लेखापरीक्षण भईसकेका वर्षको साधारण सभा हुन नसकेको हो । अब सस्पेन्स हिसाब मिलान भएपछि अर्को साधारण सभाबाट मात्र बीमा कम्पनीले यस अघि प्रस्ताव भएको १२० प्रतिशत बोनस वितरण गर्नेछ ।
आर्थिक वर्ष २०७३÷७४ पछिका २ आर्थिक वर्षको लेखापरीक्षणको काम भने महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षक नखटाएका कारण हुन सकेको छैन ।
५ बर्षको लेखा एकैपटक
कम्पनीले एकै पटक ५ वटा आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने गरी असोज १९ गते वार्षिक साधारणसभा डाकेको छ। हालको साधारणसभाबाट भने कम्पनीले यस अगाडि घोषणा गरेको बोनस शेयरबारे कुनै प्रस्ताव छैन ।
कम्पनीले ३०औं वार्षिक साधारणसभाबाट बोनस शेयर दिने तयारी गरिएको भए पनि बीमा समितिले स्बीकृति नदिँदा अब ३१औं वार्षिक साधारणसभाबाट दिने तयारी गरिएको कम्पनीका निमित्त महाप्रवन्धक राजेन्द्रजङ कार्कीले जानकारी दिए।
बीमा समितिले आर्थिक वर्ष २०६८÷६९ को वित्तीय विवरणमा केहि त्रुटी भेटिएको हुँदा त्यसलाई सच्याउन निर्देशन दिइएको तर बोनस शेयरको सम्बन्धमा भने कुनै पनि निर्देशन नदिइएको समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
कम्पनीले एकै पटक आर्थिक वर्ष २०६३÷६४, २०६४÷६५, २०६५÷६६, २०६६÷६७ र २०६७÷६८ को वित्तीय विवरण पारित गर्ने छ। बीमा समितिले आर्थिक वर्ष २०६८÷६९ को वित्तीय विवरणमा केहि कुरामा अस्वीकृति जनाएको हुँदा ढिला भएको कम्पनीले जानकारी दिएको छ।
बाँकी आर्थिक वर्ष २०६९÷७० देखि २०७३÷७४ को लेखापरिक्षण पनि अन्तिम चरणमा पुगेको कार्कीले बताए । त्यसपछीको लेखापरिक्षणका लागि भने महालेखाले अडिटर खटाएको छैन । तर पनि कम्पनीले यसै आर्थिक बर्षभित्र बांकी सबै साधारणसभा गरिने दाबी गरेको छ ।
कम्पनीको संचालक समितिले यसअघि १२० प्रतिशत बोनस शेयर दिने घोषणा गरिसकेको हुँदा यो बोनस शेयर प्रक्रिया पुराएर दिइने कम्पनीले जनाएको छ । बोनसपछि चुक्ता पूँजी ५८ करोड ६६ लाख रुपैयाँ पुग्नेछ । घोषणा गरिएको बोनस शेयरपछि पनि कम्पनीलाई अझै ४१ करोड ३४ लाख रुपैयाँ आवश्यक पर्छ। आवश्यक पूँजी बाँकी आर्थिक वर्षको लेखा परीक्षण सकिएसँगै बोनस शेयरमार्फत पुरा गर्ने योजना रहेको कार्कीले जानकारी दिए।
हालका दुई सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थान एउटै थिए। एउटै कम्पनी जीवन र निर्जीवन बीमा व्यावसाय गर्दै आएका थिए।
यसरी जीवन र निर्जीवन बीमा गर्दा जीवन तर्फको रकम निर्जीवनमा र जीवन तर्फको रकम निर्जीवनतर्फ जोडिँदा अहिले हिसाव किताव गर्न गाह्रो परेको कम्पनीले जनाएको छ । ‘एउटै कम्पनी हुँदा केही समस्या थिएन तर छुट्टा छुट्टै कम्पनी भएपछि हिसाव किताव गर्न गाह्रो पर्यो, उनले भने ’हिसाव कितावमा हिनामिना भएर लेखापरिक्षण हुन नसकेको होइन।’