साताको सुरुवातमै घट्यो शेयर बजार, ‘शेयर खरिद बिक्री गर्ने स्थिती नै छैन’, कारोबार खुम्चियो

August 30, 2018 12:54 pm

काठमाडौं। गत साता भरिनै घटेर बन्द भएको शेयर बजारले यस साताको सुरुवात पनि घटेरै गरेको छ। साताको पहिलो दिन आइतबार शेयर बजारमा झिनो अंकको गिरावटसँगै कारोबार रकम समेत खुम्चिएको छ।

शेयर बजार मापक सूचक २.७८ अंकले घटेर ११७५.७२ अंकमा ओर्लिएको छ। बैंक तथा वित्तीय संस्थाले व्याज दर घटाउने लक्षण नदेखाउँदा यसको प्रभाव शेयर बजारमा परेको बजार विश्लेषक राजन लम्सालले बताए। शेयर संख्या बढ्ने क्रम जारी रहेको हुँदा बजारमा ओभर सप्लाइ भएर माथि जान नसकेको उनको तर्क छ। बजार बढ्ने कुनै बलियो आधार नहुँदा लगानीकर्ता शेयर खरिद बिक्रीको लागि सक्रिय छैनन्, उनले भने ‘शेयर खरिद बिक्री गर्ने स्थिती नै छैन।’

गत सातादेखि नै शेयर बजार घट्दो क्रममा देखिएको छ। आइतबार छैंठौ दिनको गिरावट हो। छैठौ दिनको गिरावटसँगै बजारले ३४.६० अंक गुमाएको छ। पछिल्लो साता पनि बजार लगातार सात दिन घटेर दुई दिन बढेको थियो।

आइतबार १४६ कम्पनीको २० करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा बढी नेपाल क्षन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर पाँच करोड ३२ लाख रुपैयाँमा खरिद बिक्री भयो। यो अघिल्लो कारोबारको तुलनामा करिब सात करोड रुपैयाँ कम हो। अघिल्लो साता बिहीबार २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोबारमा आएका उपसूचकमा उत्पादनमुलक बाहेक सबै सूचक घटेका छन्। उत्पादनमूलक समूह १४.१७ अंकले बढेको छ। बैक १.०३, होटल ०.०४, विकास बैक ११.५, जलविद्युत २.०६, फाइनान्स १.६१, निर्जीवन बीमा ४२.४८, अन्य २.७, लघुबित्त १२.६२ र जीवन वीमा १.८८ अङ्कले घटेको छ।