दुई जलबिद्युत कम्पनीले आइपिओ निष्कासन गर्दै, ग्रिनलाइफ र जोशीले कति जारि गर्छन्?

August 30, 2018 12:52 pm

काठमाडौं। नेपाल धितोपत्र बोर्डमा दुई जलविद्युत कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि अनुमति माग्दै निवेदन दिएका छन्। ग्रिन लाइफ हाइड्रोपावर र जोशी हाइड्रोपावर कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि आवेदन दिएका हुन्।

ग्रिन लाइफ हाइड्रोपावरले प्रभावित क्षेत्रका लिगि शेयर निष्कासन गर्ने अनुमति मागेको छ भने जोशीले सर्बसाधारणको लागि शेयर निष्कासन गर्न निवेदन दिएको हो। ग्रिन लाइफले प्रभावित क्षेत्रका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ। कम्पनीको दोलखामा ४० मेगावाटको विद्युत् आयोजना निर्माणाधिन छ। कम्पनीले शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटललाई नियुक्त गरेको छ।

जोशी हाइड्रोपावर कम्पनीले १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४७० कित्ता साधारण शेयर निष्कासन गर्ने छ। साधारण शेयर निष्कासनको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनीले यसअघि प्रभावित क्षेत्रको लागि जेठमै साधारण शेयर निष्कासन गरिसकेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला, इलाम नगरपालिका वडा नं १, ३ र ४ का बासिन्दाहरूको लागि निष्कासन गरेको थियो।

कम्पनीको इक्रा रेटिङ ‘इक्रा एनपि आइपिओ ग्रेड ५’ रहेको छ। यस सूचकले कम्पनीको वित्तीय अवस्था तथा भोलि दिन सक्ने लाभांश सबै भन्दा कमजोरको रूपमा जनाउँदछ। तीन मेगावाट क्षमताको उक्त आयोजनाको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। त्यस्तै जम्मा उत्पादन लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ।