बाबा रामदेवको नामैले बजार पिटेको पतन्जलीका उत्पादनहरुको बिक्रीमा गिरावट, क्रेज घटेकै हो त?

August 30, 2018 12:39 pm

भारतमा बाबा रामदेवको पतन्जली आयुर्वेदका उत्पादनहरुको बिक्री बिगत एक वर्षदेखि कमजोर हुँदै गएको छ। क्यान्टर वर्ल्ड प्यानलले हालै गरेको अध्ययनपछि सार्वजनिक गरेको तथ्यांक अनुसार पतन्जलीको बिक्रीमा अक्टोबर देखि मार्च २०१८ सम्ममा ७ प्रतिशतको बृद्धि देखिएको छ। जबकि यो गत वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा २२ प्रतिशत थियो।

त्यसभन्दा अघिल्लो वर्षसँग तुलना गर्दा बिगत दुई वर्ष यताको अवधिमा पतन्जलीको बिक्रीमा ५२ प्रतिशतले गिरावट आइसकेको छ।

एक साताअघि क्रेडिट सुइसले आफ्नो प्रतिवेदनमा पतन्जलीको सेल्स ग्रोथमा बिगत ४ वर्षयता बृद्धि नदेखिएको बताएको छ।

यसबाट अघिल्लो वर्षसम्म कम्पनीले पूर्णतया कम्पाउन्ड एनुअल ग्रोथ रेट (सीएजीआर)बाट मात्रै बृद्धि हासिल गरेको देखिएको क्रेडिट सुइसले आफ्नो प्रतिवेदनमा भनेको छ। तर पतन्जलीको वास्तविक बिक्री र बृद्धिबारे भने क्रेडिट सुइसले तथ्यांक दिएको छैन।

पतन्जलीका प्रवक्ता एस के तिजारावालाले भने-“एफएमसीजी सेक्टरमा पतन्जलीले सबैभन्दा ठूलो बजार पाएको छ। अब मार्केटमा हाम्रो ब्राण्ड स्थापित भैसकेको छ । हाम्रो मार्केट शेयर पनि बढिरहेको छ। हामीले अन्य एफएमसिजी कम्पनीहरुकै बराबर ग्रोथ हासिल गरिरहेका छौं।”

उनका अनुसार पतन्जलीले साह्रै छोटो अवधीमा कन्ज्यूमर फेसिङ आयुर्वेदिक बिजनेसलाई दिगो बनाएको हो। पतन्जलीले स्थापित मल्टीनेशनल ब्राण्डहरुलाई पनि सबै क्याटेगोरीमा चुनौती दिएको दावी गरे।