
काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच स्वर्गीय सञ्जय न्यौपाने आर्थिक अनुसन्धान (फेलोसीप) सम्झौता भएको छ। आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवर्द्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौंता गरिएको हो। सेजनका पूर्वउपाध्यक्ष समेत रहेका स्वर्गीय न्यौपानेको सम्झनामा स्थापना भएको फेलोसिप सम्झौतामा सोमबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रवन्धक मनिष झाले हस्ताक्षर गरेका छन्।
फेलोसिपका लागि सुरुवातामा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने छ। प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ। कम्पनीका महाप्रवन्धक मनिष झाले पत्रकार न्यौपानेले अनुसन्धानमा देखाउने चासोलाई कदर गर्दै फेलोसिप दिन थालिएको बताए। ‘तथ्यमा आधारित पत्रकारीतालाई प्रवर्द्धन गर्नका लागि हरेक वर्ष सेजन सदस्यमध्ये एक जनलाई फेलोसीप दिइने छ’ झाले भने।
यो फेलोसिप हरेक बर्ष सेजन स्थापना दिवसको अवसर पारेर वितरण गरिनेछ। फेलोसिपका लागि सेजनका पूर्व अध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी एक मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ।