क्षमताको पूर्ण उपयोग गर्न नसक्दा नेपाल टेलिकमको प्रगति कछुवा गतिमा, सेवातर्फको आम्दानी घट्यो

August 30, 2018 12:22 pm

काठमाडौं। यथेष्ट पूँजी तथा स्रोत भएर पनि उपयोग गर्न नसक्दा नेपाल टेलिकमको प्रगति कछुवा गतिमा अगाडी बढिरहेको छ।
९८ अर्ब ४७ करोड रुपैयाँको पूँजीकोष भएको कम्पनीको नाफा गत आर्थिक वर्षमा जम्मा १.९२ प्रतिशतले मात्रै बढेको छ। कम्पनीले गत असार सम्ममा १५ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ जुन अघिल्लो वर्षको भन्दा खासै धेरै छैन। अघिल्लो वर्ष टेलिकमको नाफा १५ अर्ब ३७ करोड रुपैयाँ थियो।

कम्पनीको दुरसञ्चार सेवा अन्तर्गतको आम्दानी भने २.२४ प्रतिशतले खुम्चिएको छ। जुन उद्देश्यले स्थापना भएको हो त्यस अनुसार व्यापार विस्तार गर्न नसक्दा बृद्धिदर बढ्न नसकेको हो। त्यस्तै अन्य आम्दानी भने ४७ प्रतिशतले बढेर ६ अर्ब २४ करोड रुपैयाँ रहेको छ।

नाफामा सामान्य सुधारसँगै प्रतिशेयर आम्दानी एक रुपैयाँले बढेर १०४ रुपैयाँ पुगेको छ।

कम्पनीले विभिन्न कम्पनीमा गरेको लगानीका साथै बैंकमा राखेको निक्षेपले गर्दा नाफामा सुधार देखिएको छ। टेलिकम तर्फका सेवा विस्तार गर्न नसक्दा अन्य सेवा प्रदायकले कम्पनीको बजार खोसिरहेका छन्।