को हुन् अमेरिकी अर्बपति वारेन बफेटका नयाँ भारतीय साझेदार, डिजिटल वालेट पेटिएममा लगानी गर्ने

August 30, 2018 12:18 pm

अमेरिकी अर्बपति वारेन बफेटले पहिलोपटक भारतमा प्रत्यक्ष बैदेशिक लगानी गर्ने भएका छन्। बफेटको वर्कशायर हाथवेले भारतको टप अनलाइन पेमेन्ट सर्भिस प्रोभाइडर पेटिएमको प्यारेन्ट कम्पनी वान ९७ कम्युनिकेसन्समा लगानी गर्न लागेको हो। कम्पनीमा लगानी गर्ने विषयमा गत फेब्रुअरीदेखि नै द्विपक्षीय छलफल चलिरहेको छ।
पेटिएममा चीनको अलिबाबा ग्रुप र जापानको सफ्ट बैंकको समेत लगानी रहेको छ। वर्कशायरले पेटिएममा ३० देखि ३५ करोड डलरसम्म लगानी गर्ने भनिएपनि लगानीको आकार भने अझै तय भैसकेको छैन। कम समयमै पेटिएमले बजारमा देखाएको परफर्मेन्सबाट प्रभावित भएर बफेटले यसमा लगानी गर्न लागेको बताइएको छ।

गतवर्ष सफ्ट बैंकले पेटिएममा १ अर्ब डलर लगानी गरेको थियो त्यसबेला पेटिएमको भ्यालु ७ अर्ब डलर मूल्यांकन गरिएको थियो। यस वर्ष १० देखि १२ अर्ब डलरको भ्यालुएसन गरिएको कम्पनीमा बफेटले लगानी गरेमा पेटिएम भारतमा मार्केट लिडरकै रुपमा देखिने विश्लेषण भैरहेको छ। वर्कशायर हाथवे र पेटिएम दुबैले यस बिषयमा अहिलेसम्म कुनै पुष्टि भने गरेका छैनन्। केही साताभित्रै यसबारेमा सार्वजनिक गर्ने अनुमान छ।

यदि यो डिल भएमा वर्कशायर हाथवेले लगानी गर्ने पहिलो निजी प्राविधिक कम्पनी हुनेछ। यसअघि हाथवेले केही पब्लिक लिस्टिङ भएका टेक कम्पनीहरुमा मात्र लगानी गरेको थियो। आइबिएम र एप्पलमा हाथवेले लगानी गरेको थियो जसमध्ये आइबिएमबाट उसले हात झिकिसकेको छ भने एप्पलमा अझै पनि लगानी रहेको छ।

वर्कशायर हाथवेले यसअघि सन् २०११ मा वर्कशायर इन्डिया स्थापना गरी बजाज अलायन्ससँग बीमा कारोबारमा साझेदारी गरेको थियो। तर दुई वर्षपछि नै वर्कशायरले त्यसबाट हात झिकेको थियो।