विराटनगर। एक महिनादेखि काठमाडौंमा खाने तेलको अभाव देखिएको छ। अभाव हुन थालेपछि काठमाडौंमा तेलको मूल्य समेत बढ्न थालेको छ।तेल अभाव भएपछि कतिपय डिस्टिब्यूटरले लिटरमै १० रुपैयाँसम्म मूल्य बढाएका छन्।
आखिर किन भइरहेको छ काठमाडौंमा खानेतेलको अभाव? विराटनगरका तेल उद्योगी भन्छन्, उपत्यका भित्रको व्यवसाय र प्रतिस्पर्धा अस्वस्थ भइसकेको छ । राम्रो तेल पठाऊँ महँगो पर्छ, प्रतिस्पर्धामा आउन सकिन्न । सस्तो तेल पठाउन मिसावट गर्नुपर्छ । अनुगमन र कार्बाहीको बिगबिगी भइरहेका बेला न्यून गुणस्तरको तेल पठाउनु दशा निम्त्याउनुबराबर हो । बरु राजधानी तेल नै नपठाउनु वेश ।
मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवं बाबा भेजिटेबल आयलका सञ्चालक प्रकाश मुन्दडाले बाबा गुड हेल्थ सनफ्लावर तेल उपत्यका पठाउन छाडेको बताए ।उद्यमी मुन्दडाले उपत्यकाका बजारमा न्यून गुणस्तरका मिसावटयुक्त तेलसित आफ्नो उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको गुनासो गरे ।‘हामीले ब्रान्ड एम्बेस्डरमा मह जोडीलाई लिने टुङ्गोमा पुगेका छौँ, अब हामी ब्रान्ड स्थापित गर्न मेहनत गर्नेछौँ’, उनले भने, ‘अनि मात्र राजधानी प्रवेश गर्ने छौँ ।’ मुन्दडाका अनुसार सरकारले तेल उत्पादकलाई दिँदै आएको भ्याटको ४० प्रतिशत सुविधा नयाँ आर्थिक वर्ष लागेपछि बन्द गरिएको छ । तेल उत्पादकले भ्याटको रकमबाट ४० प्रतिशत फिर्ता पाउने गर्थे । यसका कारण प्रतिस्पर्धामा आउन सहज थियो । तर भ्याट फिर्ता बन्द भएपछि तेलको मूल्यमा स्वतः वृद्धि आएको छ । यसका कारण उद्योगीले प्रतिस्पर्धी क्षमता गुमाएका हुन् ।
पशुपति खाद्यतेल उद्योगका नन्दकिशोर राठीले पनि आफूले राजधानीमा उत्पादन पठाउन बन्द गरेको जानकारी दिए ।‘त्यहाँ सबैलाई सस्तो चाहियो, सनफ्लावर मात्र भनेपछि ग्राहकहरू आँखा चिम्लेर खरिद गर्छन्’, उद्योगी राठीले भने, ‘तर भटमासको तेलको मूल्यमा सूर्यमुखीको तेल पाइन्छ । मिसावट नगरी कसरी पाइन्छ ? यस्तो कसरी सम्भव छ ? मिसावटका विरूद्ध सरकारको कडा कारबाही नभएसम्म सुधार आउँदैन ।’
विगत ५ वर्षदेखि ‘घरेलु’ ब्रान्डमा तोरीको तेल उत्पादन गर्दै आएको श्याम एग्रो प्रोडक्टका सञ्चालक जीवन रिजालले पनि एक वर्षयता आफ्नो तेल राजधानी जान छाडेको उल्लेख गरे ।उपत्यकामा श्याम एग्रोको ‘घरेलु’ ब्रान्डको तेलको बजार व्यवस्थापन साल्ट टे«डिङले लिएको थियो ।‘शुद्ध उत्पादन अलिकति महँगो हुन्छ।’, रिजालले भने, ‘महँगो भएका कारणले नै उपत्यकामा साल्ट ट्रेडिङले हाम्रो उत्पादन विक्री गर्न सकेन । उपभोग मिति सकिएर काठमाडौंबाट फिर्ता भएको ठूलो परिमाणको तेल हामीले प्रशासनका प्रतिनिधि रोहबरमा राखेर नष्ट गर्नुपर्यो ।’
उद्यमी रिजालका अनुसार भारतीय वा नेपालको तोरीबाट उत्पादित तेलको लागत खर्च नै प्रति लिटर १५० देखि १६० रुपैयाँ पर्न आउँछ। यो तेल खुद्रा बजारमा प्रति लिटर १९० देखि २०० रुपैयाँसम्म विक्री गर्नु पर्छ । तर उपत्यकाका बजारमा प्रति लिटर १६० रुपैयाँमै तोरीको तेल पाइन्छ । यसको राज के हो भनेर सरकारी निकायले खोजेको छैन । खोजेर थाहा पाए पनि प्रभावकारी कारबाही भएको छैन ।
आफ्नो ‘घरेलु’ ब्रान्डको तेलको उपभोक्ता मूल्य प्रति लिटर २ सय रुपैयाँ रहेको उनले जानकारी दिए ।तोरीको तेलभन्दा पनि सस्तो मूल्यमा सूर्यमुखी, भटमास र पामोलिन तेल छन् । सूर्यमुखीको सबैभन्दा सस्तोमा प्रति लिटर १४०, भटमासको १२५ र पामोलिन तेल १०० मा पाइन्छ । अर्कातिर तोरीको शुद्ध तेलको खुद्रा मूल्य प्रतिलिटर २०० पर्छ । चारै प्रकारका तेलका मूल्यमा रहेको अन्तर नै मिसावटको मुख्य कारण भएको छ ।
व्यवसायीका अनुसार तोरी र सूर्यमुखीको तेलमा भटमासको तेल मिसाउने समस्या धेरै छ ।यसबाहेक भारतका सीमावर्ती बजारबाट भटमासको तेल मिसाइएको तोरीको तेलको अवैध पैठारीले पनि उद्योग सञ्चालन गर्न कठिनाइ भएको रिजालको दुखेसो थियो ।भारतका सीमावर्ती बजारबाट ‘टाइगर’ र ‘दावत’ ब्रान्डका मिसावटयुक्त तेल तस्करी भएर नेपालका तेल बजार र उद्योगसम्म आउने गरेको उनको आरोप छ ।
तेलमा मिसावटको सूक्ष्म विश्लेषण र अनुसन्धान गर्न सक्ने उपकरण नेपालमा नभएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।कार्यालयका प्रमुख प्रमोद कोइरालाका अनुसार नेपालमा परम्परागत रूपमा ‘केमिकल टेस्ट’ गरेर मिसावटको परीक्षण गरिन्छ । धेरै परिमाणको मिसावट भएको मात्र यस्तो परीक्षणले पत्ता लाग्छ, यस्तोमा २५–३० प्रतिशतसम्मको मिसावट पत्ता लाग्दैन ।
प्रमुख कोइरालाले मिसावटको खास परिमाण र मात्रा पत्ता लगाउन ‘ग्यास क्रोम्याटोग्राफी मास स्पेक्ट्रोमेट्री’ (जिसिएमएस) प्रविधि आवश्यक पर्ने बताए । यस्तो प्रविधिको उपकरण ल्याउन कम्तीमा डेढ करोड पर्छ । नेपालमा कतै पनि जिसिएमएस प्रविधिबाट परीक्षण गर्ने मेसिन नभएको कोइरालाले जानकारी दिए ।