तोरीको र सूर्यमुखीको तेलमा मिसावट अचाक्ली, राम्रोसँग परीक्षणनै हुँदैन

August 30, 2018 12:05 pm

विराटनगर। राज्यबाट ठोस परीक्षणको अभाव र बजार मूल्यमा रहेको अन्तरको फाइदा उठाउँदै उद्योगीले तोरीको र सूर्यमुखीको तेलमा भटमासको तेल मिसावट अत्याधिक हुन थालेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र त्यस अन्तर्गतका कार्यालयले मिसावट गरिएका तेलको अत्याधुनिक प्रविधिबाट परीक्षण गर्न सकेका छैनन् । सरकारी निकायको यही कमजोरीको फाइदा उठाउँदै उद्योगीले तोरी र सूर्यमुखीको तेलमा भटमासको तेल मिसाउने गरेका हुन् ।विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार जिसिएमएस प्रविधिबाट मात्र तेलमा मिसावटको पूर्ण र सूक्ष्म विश्लेषण गर्न सकिन्छ । यो प्रविधि विभागको केन्द्रीय कार्यालयमा उपलब्ध छ तर तेलको परीक्षणका लागि अहिलेसम्म प्रयोग गरिएको छैन ।

विभाग र त्यसअन्तर्गतका कार्यालयले खाने तेल हालसम्म केमिकल परीक्षण मात्र गरिरहेका छन् । यो प्रविधि पुरानो हो । मिसावटको सकल पक्ष अध्ययन गर्न सक्ने जिसिएमएस मेसिनको लागत डेढ करोड पर्छ । यस्तो मेसिन विभागको केन्द्रीय कार्यालयमा भए पनि देशका अन्य कार्यालयमा छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालय काठमाडौंबाहेक हेटौँडा, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा छन् । जनकपुरमा स्थापना गर्ने तयारी भइरहेको वस्तीले जानकारी दिए ।‘जिसिएमएसबाट परीक्षण गर्ने हो भने हाम्रो मापदण्डमा नै परिवर्तन गर्नुपर्छ, भन्नेवित्तिकै त्यता जान समय लाग्छ’, वस्तीको भनाइ थियो, ‘अहिले तत्काल प्राविधिक समस्या छ ।’

‘अहिले भइरहेको केमिकल परीक्षण दोषपूर्ण छ, यसबाट मिसावट पत्ता लाग्दैन’, विभागका एक अधिकारीले उदाहरण दिँदै भने, ‘जस्तै विभागले भटमासको तेलको आयोडिन भ्यालुको मापदण्ड १२० देखि १४० र सूर्यमुखी तेलको ११० देखि १४३ कायम गरेको छ । यो मापदण्डअनुसार कुनै व्यवसायीले १३० भ्यालु भएको भटमासको तेललाई सूर्यमुखी तेल भनेर घोषणा गर्यो र विक्री गर्यो भने उसलाई पक्रने र कारबाही गर्ने ठाउँ छैन ।’
प्रवक्ता पूर्णचन्द्रका अनुसार जिसिएमएस् प्रविधिले चाहिँ दूधको दूध पानीको पानी छुट्याउँछ । कुन पदार्थ वा तत्त्वको कति मिसावट छ भन्ने यसबाट पत्ता लाग्छ ।

व्यवसायीले तोरीको तेलमा भटमास वा सूर्यमुखी र सूर्यमुखीको तेलामा भटमासको तेल मिसाउने गरेका छन् । तर मिसावटको आरोपमा हालसम्म सरकारले कसैलाई कारबाही चलाइएको छैन ।मिसावटका कारण उपभोक्ताले सस्तो तेल महँगोमा खरिद गर्न बाध्य हुनुपरेको छ र यसबाट सरकारको राजस्वमा पनि असर परेको छ ।

खुद्रा बजारमा तोरीको तेलको मूल्य प्रति लिटर १८० देखि २०० र सूर्यमुखीको प्रति लिटर न्यूनतम १४० रुपैयाँ छ । व्यवसायीले मिसावट गर्ने भनिएको भटमासको तेल प्रति लिटर न्यूनतम ११० रुपैयाँमा पाइन्छ । मूल्यमा भएको यही अन्तरका कारण मिसावटको प्रवृत्ति बढेको हो ।

‘त्यही सूर्यमुखीको तेल कतिपय ब्रान्डमा प्रति लिटर १४० रुपैयाँमा पनि पाइन्छ, सूर्यमुखीको तेलमै राम्रा भनिएका ब्रान्डको मूल्य प्रति लिटर २५० रुपैयाँ पनि छ’, उपभोक्ता अधिकारकर्मी मोहन भट्टराईले प्रश्न गर्दै भने, ‘ब्रान्डेड र नन ब्रान्डेड सूर्यमुखी तेलको मूल्यमा यति ठूलो अन्तर किन छ ? सरकारले तेलको ठोस र सूक्ष्म परीक्षण गरेर बजारमा शुद्धता कायम गर्न सक्नुपर्छ ।’