काठमाडौं-केरुङ रेलमार्ग: प्राविधिकरुपले बनाउन योग्य, ९९ प्रतिशत जमिन मुनी वा आकाशमा मात्रै हुने

August 30, 2018 12:02 pm

काठमाडौं। चीन नेपाल जोड्ने केरुङ-काठमाडौं रेल आयोजना प्राविधिकरुपले सम्भव देखिएको छ। चिनियाँ प्राविधिकहरुले तयार पारेको पूर्व सम्भाव्यता अध्ययन (प्रि फिजिबिलिटी स्टडी)ले यो रेल आयोजनालार्इ सम्भव देखाएको हो।

नेपाल-चीन द्विपक्षीय सम्झौता भएर चिनियाँ प्राविधिकहरुले रेल आयोजनाको पूर्व सम्भाव्यता अध्ययन थालेका थिए। निर्धारित समय अवधिभन्दा एक महिना अगावै उनीहरुले अध्ययन सकेर प्रतिवेदन तयार गरेका छन्। चिनियाँ प्राविधिकहरुले प्रतिवेदन तयार भएपछि प्राविधिक पुनरावलोकनका लागि नेपाली पक्षलार्इ बोलाएका थिए। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सधुसूदन अधिकारीको नेतृत्वमा गत शनिबार रेल विभागका महानिर्देशक, मन्त्रालयकै सहसचिव, पराराष्ट्र मन्त्रालयका प्रतिनिधिलगायतका सात सदस्यीय टोली चीन गएको थियो। नेपाली र चिनियाँ टोलीका बिचमा तीन दिनसम्म भएको छलफलमा प्राविधिक पुनरावलोकनको काम भएको थियो। नेपाली टोली स्वदेश फर्किसकेको छ।

रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार प्रतिवेदनले केरुङ-काठमाडौं रेल आयोजनालार्इ प्राविधिकरुपले सम्भव देखाएको छ। यो रेलमार्ग निर्माण सम्भव देखिएपनि चुनौतिपूर्ण भने रहेको उनले बताए।

चिनियाँ कम्पनी चाइना फष्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटले प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनअनुसार चीनको सिमावर्ती शहर केरुङबाट काठमाडौंसम्म रेलमार्ग निर्माण गर्नका लागि ९ वर्ष लाग्ने छ।

अहिले चीनले सिगात्सेसम्म रेलमार्ग निर्माण गरिरहेको छ। सिगात्सेबाट केरुङ करिब ५ सय किलोमिटरको दूरीमा पर्दछ। सन् २०२२ सम्ममा चीनले केरुङसम्म रेलमार्ग निर्माण गर्ने योजनाको काम गरिरहेको छ। ६ सय किलोमिटरको सिगात्से-केरुङ-काठमाडौं रेलमार्ग बनाउन ९ वर्ष लाग्ने अध्ययनले देखाएको छ।

केरुङ-काठमाडौं रेलमार्ग करिब ७२ किलोमिटरको हुनेछ। यसमा चारवटा स्टेशनहरु रहनेछन्। पहिलो स्टेशन केरुङमा रहनेछ। रेलमार्गको बिचमा दुर्इवटा र काठमाडौं टोखामा अन्तिम स्टेशन रहनेछ। टोखामा बन्ने स्टेशन पुलमाथि रहनेछ। बिचको एउटा स्टेशन सुरुङभित्र हुने विभागका महानिर्देशक आचार्यले जानकारी दिए।

रेलमार्गको अधिकांश भाग सुरुङमा हुनेछ। प्रतिवेदनअनुसार ७ वटा सुरुङमार्ग रहनेछन्। जसमा सबैभन्दा लामो सुरुङ १९ किलोमिटर लामो हुनेछ। त्यसपछि १७, १५, १२, १०, ८ र ७ किलोमिटरका सुरुङ बन्नेछन्। सुरुङ पहाडबाट करिब २ किलोमिटर मुनी हुनेछ। यती भित्री भागमा सुरुङ बनाउन प्राविधिकरुपमा अन्यन्तै जोखिमपूर्ण हुने प्राविधिकहरुले बताएका छन्।

यस्तै ४ किलोमिटर खण्ड पुलमा हुनेछ। चिनियाँ कम्पनीले तयार पारेको प्रतिवेदन अनुसार ९९ प्रतिशत सुरुङ र पुलमा रेलमार्ग निर्माण हुनेछ। रेलमार्गको १ किलोमिटर खण्डमात्रै जमिनमा हुनेछ।

समुन्द्र सतहबाट केरुङ करिब ३००० फिट उचार्इमा पर्छ। काठमाडौं करिब १२०० मिटर उचार्इमा छ। ओरालोमा रेलमार्ग निर्माण गर्नु आफैँमा चुनौतिपुर्ण मानिन्छ। यसका लागि उच्च प्रविधि आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।

ओरालोमा रेलमार्ग निर्माण गर्नुपर्ने भएकाले युत्रबाहक रेलका लागि एउटा मात्रै इन्जिन भए हुने तर मालबाहक रेललार्इ दुर्इवटा इन्जिन आवश्यक पर्छ। अधिकांश भाग सुरुङमा निर्माण हुने भएकाले भूकम्पीय जोखिमलार्इ समेत ध्यानमा राख्नुपर्ने प्राविधिकले जनाएका छन्। यस्तै सुरुङभित्र अक्सिजनको कमी हुन सक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्नेछ।

यो रेलमार्ग निर्माणका लागि करिब २ खर्ब ५६ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। तर यो आयोजनाको निर्माण विधि कस्तो हुने टुंगो लाग्न सकेको छैन।

अहिले पूर्व सम्भाव्यता अध्ययन मात्रै भएको छ। अब यो आयोजनालार्इ अघि बढाउनका लागि विस्तृत प्रतिवेदन बनाउनुपर्ने हुन्छ। यसका लागि दुर्इ वर्षको समय लाग्ने रेल विभागका महानिर्देशक आचार्यले जानकारी दिए। चिनियाँ प्राविधिकहरुले नै यो रेलमार्गको विस्तृत संभाव्यता अध्ययन (डिएफएस) गर्नेछन्।

नोभेम्बरमा तेस्रो बैठक काठमाडौंमा
आचार्यका अनुसार आगामी नोभेम्बरमा चिनियाँ सरकारी अधिकारीसमेतको छलफल काठमाडौंमा हुनेछ। यो अवधीसम्ममा चीनले पनि आफ्नो हिसाबले गृहकार्य गर्नेछ भने नेपालले पनि गृहकार्य गर्नेछ।

द्विपक्षीय छलफलबाट लगानीको मोडालिटी र डिएफएसका विषयमा टुङ्गो लगाइने आचार्यले जानकारी दिएका छन्। नोभेम्बरमा हुने छलफललले रेलमार्ग निर्माण गर्ने विषयलार्इ टुङगोमा पुर्याउनेछ।