हतारमा पर्यटन वर्ष घोषणा : बल्ल चाँजोपाजो मिलाउँदै कर्णाली सरकार

August 30, 2018 12:01 pm

सुर्खेत। कर्णाली रारा–पर्यटन वर्ष–२०७५ सफल बनाउन उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालय लागी परेको छ।

आवश्यक मात्रामा पूर्वाधार तयार नगरी सुरु गरिएको पर्यटन वर्ष सफल बनाउने कसरतमा मन्त्रालय लागेको छ। पछिल्लो समय मन्त्रालयले पर्यटन वर्ष सफल बनाउन प्रचार, प्रसार र आवश्यक स्रोत साधनको जोहो गर्न जुटेका देखिन्छ।

प्रदेश सरकारले आवश्यक पूर्वाधारविनै हतार हतारमा प्रधानमन्त्रीबाट कर्णाली रारा–पर्यटन वर्ष २०७५ उद्घाटन गर्यो। पर्यटन वर्षको उद्घाटन पश्चात प्रदेशसभामा समेत चर्काे आलोचना भयो। कुनै पूर्वाधार तयार नगरी पर्यटन वर्ष घोषाणा हतार भएको भन्दै प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले चर्काे आवाज उठाएका थिए।

प्रचार–प्रसार तीव्र
मन्त्रालयले रारा–पर्यटन वर्षलाई सफल बनाउन प्रदेश ५ को नेपालगञ्ज र कोहलपुर चौराहामा होडिङ् बोर्ड राख्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता शिवराम अधिकारीले जानकारी दिए। उनका अनुसार सुर्खेतको विमानस्थल, लगाएत प्रदेश मन्त्रालयहरुमा समेत प्रचार सामग्री होडिङ बोर्ड राखेको छ।
‘पर्यटन वर्षलाई सफल बनाउन मन्त्रालय लागि परेको छ,’ उनले भने, ‘पर्यटन वर्ष घोषणा हतार हतारमा हुँदा केही कमजोरी हुँदा हुँदै पनि हामीले अझै सुधार गर्दे लैजाने प्रयासमा छौ, वर्ष भरी नै पर्यटन वर्ष हुने भएकाले अहिले हामी प्रचार, प्रसार सामग्रीहरु विषयगत मन्त्रालयमा र विभिन्न स्थानमा राख्ने भन्ने योजना छौँ।’
तथ्यांक राख्दै
कर्णालीमा भित्रिएका कुनै पनि पर्यटकको तथ्यांक नराखेको प्रदेश मन्त्रालयले अहिले तथ्यांक संकलन गर्न निर्देशन दिएको छ। रारामा आउने पर्यटकको तथ्यांक राख्न रारा राष्ट्रिय निकुञ्ज लगाएतले संकलन गर्ने गरेका छन्।
त्यस्तै, मुगुको जिल्ला वनकार्यालयमा समेत युनिट राखेर पर्यटकको तथ्यांक संकलन गरिरहेको छ।  डिभिजन वन कार्यालय, भु तथा जलाधार व्यवस्थापन कार्यालय मार्फत समेत पर्यटकको तथ्यांक संकलन गर्ने काम थालिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, पर्यटकका लागि कर्णाली राजमार्ग अन्तरगत विभिन्न स्थानमा सूचना सहितको सडक नक्सांकन संकेत समेत राखिएको छ। नयाँ आगन्तुक पर्यटकका लागि सहज र सरल तरीकाले गन्तव्य स्थल सम्म पुग्न सहयोग पु¥याउने उद्देश्यले यस्तो गरिएको छ। नवआगन्तुक पर्यटकका लागि कनु ठाउँ पुग्न कुन सडक मार्फत जाने, कता जाने, कति समय लाग्छ सहितको सुचना राखिएको हो।
दुई करोड प्रचार प्रसारमै 
गत आर्थिक वर्षमा खर्च गर्न नसकेको पर्यटन मन्त्रालयले यस चालु आर्थिक वर्षमा २ करोड रुपैँया सक्ने योजनामा छ। पर्यटन वर्षकै प्रचार प्रसार सामग्रीको लागि भन्दै २ करोड रुपैँया खर्च गर्ने तयारी भएको मन्त्री बुढाले बताए।
मन्त्रालयको ५३ प्रतिशत बजेट पर्यटनमै
कर्णाली प्रदेश पर्यटनको सम्भावना भएको क्षेत्र भएकाले अहिले प्रदेश सरकारले ठुलो रकम विनियोजन गरेको छ। पर्यटन क्षेत्रको विकास नगरी कर्णालीको समृद्धि नहुने भन्दै पर्यटनलाई प्रदेश सरकारले विशेष जोड दिएको मन्त्री बुढाको भनाई छ।
पर्यटनबाटै कर्णालीमा विकासको ढोका हुल्ने जिकिर गर्दै ९८ करोड रुपैँया मन्त्रालयले विनियोजन गरेको बताए। मन्त्रालयको कुल बजेट मध्ये ५३ प्रतिशत बजेट पर्यटन क्षेत्रमा खर्चने मन्त्रालयले जनाएको छ।
उक्त बजेट कर्णालीका विभिन्न जिल्लाहरुमा रहेका पुरात्तात्विक ऐतिहासिक प्रसिद्ध ठाउँहरुको थप स्तरउन्नती र मर्मत सुधार गरिने भएको छ भने साथै संरक्षण र प्रवर्धनमा लगानी गर्ने मन्त्रायलले जनाएको छ।
पाँच लाख पर्यटक भित्र्याउँछौं: मन्त्री बुढा
पर्यटन मन्त्री नन्दसिंह बुढाले कर्णाली रारा–पर्यटन वर्ष सफल पार्न प्रदेश सरकार निरन्तर लागि परेको बताए।

पूर्वाधार तयार नगरी पर्यटन वर्ष उद्घाटन गरे पनि आफुहरु लक्ष्य प्राप्तिका लागि दिनरात डटेर काम गरेको बताए। पछिल्लो समय रारा पर्यटन वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको प्रदेश सरकारले कुनै पनि हालतमा पुरा गर्ने उनको दावी छ।

‘वैशाखमा हामीले उद्घाटनमात्रै गरेको हो।’ उनले भने,‘पर्यटन वर्ष त वर्षभरीनै हुने हो, त्यसैले ढिलै भएपनि सवैको सल्लाह सुझाव अनुसार हामीले लिएको लक्ष्य पुरा गर्न लागि परेका छौँ।’