यातायातमा सिन्डिकेट खारेजपछि झन् अन्यौलता बढ्यो, नयाँ बस थपिएनन्, दसैंमा बस अभाव

August 30, 2018 11:55 am

काठमाडौं। सिन्डिकेट खारेज गरेपनि सरकारी नीतिमा स्पष्टना नआएको भन्दै देशभरका यातायात समितिका व्यवासायीहरुले नयाँ बस थपेका छैनन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारी नीतिमाथि अन्यौलता रहेका कारण व्यवसायीहरु लगानी गर्न डराएको बताए। उनका अनुसार, व्यवसायीहरुको लगानी गर्ने इच्छा हुँदाहुँदै पनि यातायात क्षेत्रमा रहेको अन्यौंलताका कारणले लगानी गर्ने वातावरण छैन्। ‘के हुने हो थाहा छैन् व्यवसायीहरुले कसरी लगानी गर्छन् र बस ल्याउनु’ उनले भने। सिटौलाका अनुसार काठमाडौंका केहि समितिले बस थपे पनि बाहिरकाले थपेका छैनन्।

यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यविधी निर्देशिका ल्याएर सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो। मन्त्रीपरिषदले असार मसान्तपछि जिल्ला प्रशासन कार्यालयबाट यातयात समिति र संघसंस्थाहरु दर्ता तथा नवीकरण रोक्ने निर्णय गरेको थियो।

तर असार मसान्त सकिएपछि सरकारले यातायात समितिहरुलार्इ कम्पनीमा दर्ता हुनका लागि पुस सम्मको समय दिएको छ। सरकारले सिन्डिकेट खारेजीलार्इ संस्थागत गर्नका लागि तयारी नपुगेको भन्दै पुस सम्मको समय दिएको हो। अहिले समितिका व्यवसायीहरु सार्वजनिक यातायात कसरी अघि बढ्छ भन्ने अन्योलमा रहेका छन्।

दशैमा पनि बस नथपिने
दशैका लागि बर्षेनी एक अर्ब रुपैयाँ बराबरको नयाँ बसमा लगानी गर्दै आएका व्यवसायीले अन्योलताकै कारण बस ल्याउन नसकेको बताएका छन्। यातायात व्यवसायीहरुले दशै तिहारका लागि २/३ सयभन्दा बढि नयाँ बस संचालनमा ल्याउछन्। व्यवसायीहरुले दशै तिहारमा राम्रो आम्दानी पनि गर्छन्।

दशैमा काठमाडौं उपत्यकाबाट अधिकांश गाउँ फर्कने हुँदा चाप बढी हुने भएकाले सवारीसाधन थप गर्नुपर्ने हुन्छ। तर अहिले अन्योलताकै कारण नयाँ बस थप्न नसकिएको यातयात व्यवसायीहरु बताउँछन्। दशैतिहारमा गाउँगाउँसम्म जानका लागि यात्रुहरुको उल्लेख्य हुन्छ। राजधानीका पुर्व तथा पश्चिम जाने लामो तथा मध्यम दुरीका रुटका सवारीसमा बढी चाप हुन्छ।