लगानीको मोडालिटीसहित छलफलमा आउन निजी क्षेत्रलाई प्रस्ताव आव्हान गर्ने सरकारको निर्णय

August 30, 2018 11:34 am

काठमाडौं। सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागि अन्तर्राष्ट्रिय निजी क्षेत्रलाई आव्हान गर्ने भएको छ। निर्माणको मोडालिटी अहिलेसम्म टुंगो नलागेको आयोजना बनाउन ईच्छुक कम्पनीसँग मोडालिटीसहित प्रस्ताव पेश गर्ने तयारी गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडासमेतको बैठकले निजगढ विमानस्थल निर्माणकालागि ईच्छुक अन्तर्राष्ट्रिय कम्पनीसँग आशयपत्र माग गर्ने निर्णय गरेको हो। ‘सरकारले निजगढ विमानस्थल निर्माणकालागि निजी क्षेत्रसँग प्रस्ताव माग गर्यो, आजको बैठकको निर्णय यही हो,’ बैठकमा सहभागी भएका एक अधिकारीले भने।

राष्ट्रिय गौरवको यो आयोजना निर्माणकालागि अन्तर्राष्ट्रिय कम्पनीहरुले अनौपचारिक रुपमा चासो देखाएपछि सरकारले मोडालिटीसहितको आशयपत्र माग गर्ने निर्णय गरेको हो। बुधबार पर्यटन मन्त्रालयमा भएको छलफलमा सहभागी भएका एक अधिकारीका अनुसार अन्तर्राष्ट्रिय कम्पनीहरुले फरक फरक मोडालिटीसहितको अनौपचारिक प्रस्ताव गरेकाले औपचारिक प्रस्ताव माग गर्ने निर्णय गरिएको छ।

‘अहिलेसम्म हामीले फरक फरक मोडालिटीसहितको प्रस्ताव अनौपचारिक रुपमा पाएका थियौँ,’ सहभागी स्रोतले भन्यो, ‘हामीले यो आयोजना अन्तर्राष्ट्रिय निजी क्षेत्रको सहभागितामा निर्माण गर्न सकिन्छ भन्ने निश्कर्षका आधारमा आशयपत्र माग गर्ने निर्णय गरेका हौँ।’

बैठकमा सहभागी पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार अबको केही दिनमा नै मोडालिटीसहित आउन लगानीकर्तालाई आव्हान गरिनेछ। ‘हामी केही दिनमा नै आशयपत्र माग गर्नेछौँ, सकेसम्म छिट्टै यो काम हुन्छ,’ ती अधिकारीले भने।

अर्थमन्त्री खतिवडाले पटकपटक यो विमानस्थल विदेशी लगानीमा निर्माण गर्ने बताउँदै आएका थिए। पर्यटन मन्त्रालयले आयोजनाको मोडालिटी टुंगो लगाउन विभिन्न चरणमा छलफल गरे पनि टुंगो लगाउन सकेको थिए। बुधबार खतिवडाकै उपस्थितीमा बसेको बैठकले निजी क्षेत्रसँग प्रस्ताव माग गर्ने निर्णय गरेको हो।

बुधबारको बैठकमा पनि अर्थमन्त्री खतिवडाले यो आयोजना निर्माण गर्न सके देशको अर्थतन्त्र बदल्ने एउटा प्रमुख प्रस्थान विन्दू हुने भएकाले सरकारले उच्च प्राथमिकतामा राखेको बताएका थिए। केही समयअघि विश्व बैंकको निमन्त्रणमा अमेरिका गएका खतिवडाले विश्व बैंक र अन्य दातृ निकायका प्रतिनिधिसँग पनि यस आयोजनामा लगानीबारे छलफल गरेका थिए।

यसअघि निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा विमानस्थल बनाउन अन्तर्राष्ट्रिय कम्पनी ईच्छा देखाएका थिए। अमेरिकी कम्पनी पी थ्री इन्टरनेशनल, विस्तृत संभाव्यता अध्ययन (डिएफएस) निर्माता ल्याण्डमार्क वर्ल्डवाइड (एलएमएडब्लु) कोरिया र अर्को एक भारतीय कम्पनीले विमानस्थल निर्माणमा चासो देखाएका हुन्।