ग्राहक तान्न नयाँ गाडी थप्दै बिक्रेता, अटो शो र दशैंका अफर पनि सार्वजनिक हुँदै

August 30, 2018 11:19 am

काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भदौ २६ मा सुरु हुने नाडा अटो शोका लागि अधिकांश सवारी साधनका नेपालस्थित आधिकारिक विक्रेताले तयारी थालेका सन्। सवारी साधनको कुम्भ मेलाका लागि सवारी साधन बिक्रेताले नयाँ अफर र गाडी पनि भित्र्याउन सुरु गरेका छन्।

अटो शोका लागि लक्ष्मी हुण्डार्इ, सिप्रदी ट्रेडीङ र अग्नि इन्कर्पोरेटले यस पटक विद्युतीय सवारी साधन ल्याउने तयारी गरेका छन्।

पछिल्लो समयमा ग्राहकको माग विद्युतीय सवारी साधन रहेकाले त्यस्ता गाडी ल्याउन लागिएको लक्ष्मी हुण्डार्इका बजार प्रमुख आवाशिष ओझाले जानकारी दिए। ओझाका अनुसार अटो शोमा पेट्रोल र डिजल इन्जिनयुक्त पुराना मोडलका सवारीका अतिरिक्त हुण्डाईको इयोनिक र कोनामध्ये एउटा कार ल्याइनेछ।

‘अटो शोका लागि हामी अहिले प्रारम्भिक तयारीमा छौँ। अहिले स्टलको योजनाका साथै ग्राहकको लागि दशैं अफर योजनबारे छलफलमा छौँ,’ ओझाले भने, ‘सम्भवतः आयोनिक इभी ल्याउने योजना बनाएका छौँ। नेपाली ग्राहकले पनि हुण्डाईको विद्युतीय सवारी पनि प्राप्त गरुन् भन्ने उद्देश्यले हामीले काम गरिरहेका छौँ।’ इयोनिकको नेपाली बजार मूल्य कायम गर्न प्रक्रिया सुरु गरिसकेको उनले जानकारी दिए। कम्पनीका अनुसार सेडान इयोनिकले कियाको सोल इभीसँग प्रतिस्पर्धा गर्नेछ।

विद्युतीय सवारीका लागि छुट्टै सर्भिस सेन्टर निर्माण गर्ने योजना रहेको कम्पनीले जनाएको छ। सर्भिस सेन्टरमै कार्यरत दक्ष जनशक्तिलाई कोरिया र मलेसियामा तालिम दिइसकेको कम्पनीले जानकारी दिएको छ।

टोयोटा गाडीको अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले यसपाली टोयोटा रस सार्वजनिक गर्ने भएको छ। नाडा अटो शोमा ग्राहक लक्षित आकर्षक अफर ल्याउने कम्पनीका सेल्स इन्चार्ज बिवेक बलामीले जानकारी दिए। नेपाली बजारमा टोयोटा रसको मूल्य ६१ लाखदेखि ७७ लाख रुपैयाँसम्म पर्ने उनको अनुमान छ।

‘टोयोटाको स्पोर्ट्स युटीलिटी भेइकल (एसयुभी) सिरीजको गाडी ल्याउने योजना बनाएका छौँ। हुण्डाईको क्रेटाभन्दा की महँगो परेपनि यसको पर्फर्मेन्स अन्य गाडीको भन्दा राम्रो हुनेछ,’ बलामीले भने।

सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सिजी होल्डिंग्सको अटोमोटिभ विभाग सिजी मोटोकर्पले स्विफ्टको तेस्रो संस्करण (थर्ड जेनरेसन)लाई नाडा अटो शोमा नयाँ प्रडक्टका रुपमा राख्ने भएको छ। ‘ग्राहक लक्षित आकर्षक अफर (नाडा स्पेसल अफर र दशैं अफर) ल्याउने योजना बनाउँदै छौँ,’ कम्पनीका बजार प्रबन्धक करुण शाक्यले भने। कम्पनीले यसको प्रारम्भिक मूल्य २९ लाख ४९ हजार रुपैयाँ तोकेको छ।

रेनल्ट गाडीको अधिकृत बिक्रेता एड्भान्स अटोमोवाइल्सले नाडा अटो सोमा क्विड क्लाइम्बर सार्वजनिक गर्ने भएको छ। कम्पनीले केहि महीना अगाडी सार्वजनिक गरेको रेनल्ट क्यापचर पनि प्रदर्शन राख्ने जानकारी दिएको छ। कम्पनीले मेलामा ल्याउन लागेको एक हजार सिसीको क्विड क्लाइम्बर सुरुवाती मूल्य अनुमानित २३ लाख रुपैयाँ पर्नसक्ने जनाइएको छ।

टाटा गाडीको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोका लागि टिगोर इभी ल्याउने भएको छ। पछिल्लो समय ग्राहकले विद्युतीय सवारी साधन चढ्न थालेकाले अब त्यसतर्फ पनि आफ्नो बजार विस्ता गर्न खोजेको कम्पनीले जनाएको छ। कम्पनीले टाटा नेक्सनको अटोमेटिक भर्सन गाडी पनि शोमा ल्याउन लागेको छ। यसको मूल्य भने तय भएको छैन।

महिन्द्रा गाडीको अधिकृत विक्रेता अग्नि इन्कर्पोरेटेडले नाडा अटो शोको लागि ‘कन्सेप्ट कार’ प्रदर्शनमा राख्ने भएको छ भने थप एउटा विद्युतीय गाडी पनि ल्याउने भएको छ। कम्पनीले सोमबार सार्वजनिक गर्न लागेको एक्सयुभी ५०० पनि बिक्रीमा राख्ने योजना बनाएको छ। ग्राहक लक्षित नाडा अफर र दशैं अफर भने छलफल प्रक्रियामै रहेको कम्पनीले जानकारी दिएको छ।