पहिलो विद्युतीय बस २ महिनाभित्र भित्रिने, सुर्यविनायक-कलंकी रूट, फुलचार्जमा २२० किमी गुड्ने

August 30, 2018 11:16 am

काठमाडौं। ग्रीन डेभलपर्स प्रालिले आगामी तीन महिनाभित्र राजधानीमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ। एकैपटक ९० जनासम्म यात्रुहरुले यात्रा गर्न सक्ने बस सार्वजनिक क्षेत्रका लागि पहिलो हुने छ। प्रालिले चीनबाट भित्र्याउन लागेको बसको लम्बाई १०.५ मिटर रहेको छ। परीक्षण स्वरुप बसले सुरुमा सुर्यविनायकबाट रिङरोडको बाटो हुँदै कलंकीसम्मको यात्रा तय गर्नेछ। एक पटक फुल चार्ज गर्न ३ घण्टा समय लाग्छ। फुलचार्जपछि बस करिब २२० किलोमिटर गुड्ने छ। बसलाई सडकको अवस्था अनुसार (ग्राउण्ड क्लियरेन्स, टर्निङ् रेडियस, उकालो, ओरालो आदि) कस्टमाइज गरेर सञ्चालन गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले जानकारी दिए। सडकको अवस्था हेरेर उत्पादकले नै बसलाई कस्टमाइज गरिदिने छन्। बसमा ‘लिथियम आयन फोस्पेट’ ब्याट्रीको प्रयोग हुनेछ। ब्याट्रीको आयु न्यूनतम पाँच वर्षको हुनेछ। आयात गर्न लागिएको विद्युतीय बसको मूल्य चीनमा करिब १ लाख ७० हजार अमेरिकी डलर पर्ने दुवालले जानकारी दिए। विद्युतीय सवारीलाई भन्सार १ प्रतिशतका साथै भ्याट १३ प्रतिशत लाग्छ। ढुवानी खर्च १० देखि १२ लाख रुपैयाँ पर्नेछ। कम्पनीले आगामी २ हप्ताभित्र एलसी (प्रतितपत्र) खोलेर चिनियाँ कम्पनी ‘सिएनएसी’ लाई भुक्तानी गरिसक्ने दुवालले जानकारी दिए। रकम भुक्तानी गरेको ४५ दिनभित्र बस काठमाडौं आइपुग्ने छ।

कम्पनीले भित्र्याउने दोस्रो विद्युतीय बस भने ३५ यात्रु क्षमताको हुनेछ। ग्रीन डेभलपर्स र चिनियाँ कम्पनीबीच ‘सीएनसी’ ब्रान्डका विद्युतीय बस र चार्जिङ स्टेशनको नेपालका लागी आधिकारिक डिलरशीपको सम्झौतासमेत भैसकेको छ। सोही बमोजिम ग्रीन डेभलपर्सले सुरुआतमा ९० र ३५ यात्रु क्षमताका एक/एकवटा विद्युतीय बस र चार्जिङ स्टेशन नेपाल भित्र्याउन लागेको हो।

यसको प्रक्रिया अघि बढाउनुअघि बस उत्पादक कम्पनीका चिनियाँ प्राविधिक नेपाल आएर काठमाडौंमा सार्वजनिक सवारीका विभिन्न रुटमा उक्त विद्युतीय बस संचालनको सम्भाव्यता अध्ययनसमेत गरेका थिए।

यही किसिमको बस नेपाल वायु सेवा निगमले जर्मनीबाट ल्याएर सटल बसका रुपमा त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा सञ्चालन गरिरहेको छ। ग्रीन डेभलपर्स प्रालिले गोर्खा इको प्यानल उत्पादन गर्दै आइरहेको छ।