मोतिहारी- अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम उत्साहजनक, सात महिनामा पाइप ओछ्याइसक्ने

August 30, 2018 11:03 am

वीरगंज।मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम ६५ प्रतिशत सकिएको छ।

नेपाल आयल निगम क्षेत्रीय डिपो अमलेखगंजका प्रमुख प्रदीप यादबका अनुसार भारततर्फ मोतिहारी देखि रक्सौल सम्म ३२ किलोमिटर लम्बाईमध्येमा २७ किलोमिटर र नेपाली भूभागमा रक्सौल देखि अमलेखगंज सम्म ३६ किलोमिटरमा १७ किलोमिटर पाइप ओछ्याइसकिएको छ।उनका अनुसार यही गतिमा काम भएमा सात महिनामा पाइपलाइन राखिसकिन्छ।

‘दुबै तर्फको पाइपलाइन ओछ्याउने काम ६५ प्रतिशत सकिएको छ’यादबले बिजमाण्डूसँग भने,’सात महिनामा ४५ प्रतिशत काम सक्नेगरि ठेकेदारले काम गरिरहेका छन्।’यो परियोजना १५ महिनामा सक्नेगरि ठेक्का दिइएको थियो। सन् २०१७ डिसेम्बर देखि नेपाल–भारत सरकारको ४ अर्ब ४० करोड रुपैयाँ लागतमा शुरु भएको यो पाइपलाइन ६८ किलोमिटर छ। कुल लगानीमध्ये १अर्ब २० करोड नेपाल र ३ अर्ब २० करोड रुपैयाँ भारत सरकारले ब्योहोर्ने सहमति भएको छ।

भारततर्फ मोतिहारी देखि रक्सौलभन्दा ५ किलोमिटर दक्षिण सम्म पाइपलाइन ओछयाउने काम भइसकेको छ भने नेपालतर्फ पथलैया देखि परवानीपुर सम्ममा अधिकांश ठाउँमा र गण्डक देखि रजतजयन्ती चोक गरी जम्मा १७ किलोमिटर पाइप ओछ्याइसकिएको डिपो प्रमुख यादवले जनाए ।एक साताभित्रै वन मन्त्रालयबाट पर्सा राष्ट्रिय निकुञ्जमा पथलैया देखि अमलेखगंज सम्म पर्ने ९ किलोमिटर क्षेत्रमा रुख काटने स्वीकृति आउने उनले बताए।

उनका अनुसार १५ दिनमा रुख काटेर अर्को १५ दिनमा खाल्डो खनेर पाइप ओछ्याइनेछ।यादबले निकुञ्ज क्षेत्र पाइप ओछ्याउने काम दशैंअघि सक्ने योजना रहेको बताए।उनका अनुसार बाँकी १० किलोमिटर बजार क्षेत्रको काम सुरु गरिनेछ। निगमका अनुसार पाँच किलोमिटर जीतबजार क्षेत्र, चार किलोमिटर परवानीपूर र एक किलोमिटर रजतजयन्तीदेखि मितेरीपुलसम्म पर्छ।

पाइपलाइन परियोजनाका प्रमुख शरद पौडेलले विद्युत,टेलिफोन र स्थानीय तहलेसहयोग नगर्दा जीतपुर,परवानीपुर र वीरगंज भन्सार क्षेत्रमा काम हुन नसकेको बताए।वीरगंज भन्सार क्षेत्रमा इन्डो नेपाल आँखा अस्पताल र भन्सार कार्यालयको पर्खाल क्षेत्रमा अहिले पनि भौतिक संरचना नहटाइएको उनले बताए।उनका अनुसार परवानीपुर र जीतपुर क्षेत्रमा अतिक्रमित जग्गा खाली नहुँदा पाइप ओछ्याउन ढिलार्इ भएको छ।