त्रिवि प्रवक्तामा बज्राचार्य र सह प्रवक्तामा त्रिताल नियुक्त

August 6, 2018 12:04 pm

काठमाडाैं, श्रावण १७ । त्रिभुवन विश्वविद्यालयले त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख भावना बज्राचार्यलाई प्रवक्ता र शाखा अधिकृत नोदनाथ त्रिताललाई सह–प्रवक्ताको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को गत सोमवार बसेको बैठकले प्रवक्ता र सहप्रवक्ता नियुक्तिको निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयमा भए गरेका निर्णयहरु, आधिकारीक गतिविधिहरु र त्रिविसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्ने सम्बन्धमा सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न समस्या परिरहेको भन्दै कार्यकारी परिषद्ले प्रवक्ता र सहप्रवक्ताको व्यवस्था गरेको हो ।

नेपाल सरकारले सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा जारी गरेको सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ३५ मा प्रत्येक मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयले आफ्नो मन्त्रालय, विभाग एवं सरकारी निकाय तथा कार्यालयको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन कुनै अधिकृतलाई प्रवक्ता तोक्नुपर्ने व्यवस्था रहेको छ ।

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले यस अघि २०७३ कार्तिक १९ गतेको बैठकले त्रिविको प्रवक्तामा त्रिवि कार्यकारी परिषद् सचिवालयका कार्यकारी सचिव तथा प्रशासक भोलाप्रसाद ढकाललाई प्रवक्ता तोकेको थियो । ढकाल २०७३ चैत्र २८ गते अनिवार्य अवकास भएसंग प्रवक्ताको जिम्मेवारी रिक्त रहेको थियो ।