मेयर साब, कहाँ पुग्यो स्मार्ट सिटीको गफ ?

August 6, 2018 11:46 am

काठमाडौं, साउन १४ । स्थानीय तहको निर्वाचनका बेला धेरैले स्मार्ट सिटीको नारा दिए । त्यही नाराका आधारमा निर्वाचन पनि जिते । यो १४ महिना पहिलेको कुरा हो यो । तर, निर्वाचन सम्पन्न भएको यत्रो लामो समय भइसक्दासमेत काठमाडौं महानगरभित्रका सडक हिड्न लायक बन्न सकेका छैनन् । पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे बन्ने गरेको छ, काठमाडौं महानगर, महानगरको प्रमुखमा छन् विद्यासुन्दर शाक्य । उनी सत्ताधारी दल नेकपाका नेतासमेत हुन् । तर, काठमाडौंको दुरावस्था भने विगतको भन्दा झन् विकराल र भयावह बन्दै गएको छ ।

काठमाडौं महानगरभित्रका सडकको दुरावस्था देख्दा देशमा राज्य छैन कि भन्ने जस्तो अनुभूति हुन्छ, कोही कसैलाई मतलब छैन । कोही कसैले चासो समेत दिएका छैनन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । तर, पर्यटकीय क्षेत्रहरुको अवस्था भयावहमात्रै बनेको छैन, हिलाम्मे र धुलाम्मे समेत बन्न पुगेको छ ।

निर्वाचनको समयमा स्मार्ट सिटी बनाउने गफ पुरानो भएको छ । जनप्रतिनिधि छन् तर भेटिदैनन् । जनताका प्रतिनिधि भनिएकाहरु चर्का भाषण त गर्छन् तर तिनले कुनै पनि काम जनताले अनुभव गर्ने गरी सम्पन्न गरेका छैनन् ।

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा ठमेल क्षेत्र पछिल्ला दिनमा हिलाम्मे बनेको छ । ढलका लागि खनिएको सडक कालोपत्रे नगरिदिँदा पर्यटकलाई मात्रै होइन स्थानीयबासीलाई समेत समस्या खडा भएको छ । पर्यटकीय क्षेत्रमा समस्या खडा भए पनि सम्बन्धित निकायले चासो देखाएको छैन ।

ठमेलको अधिकांश क्षेत्रमा घाम लाग्दा धुले र पानी पर्दा हिलो भएर जनजीवन नराम्ररी प्रभावित भएको छ । यस्तै काठमाडौंको बौद्ध क्षेत्र पनि उस्तै रहेको छ । सो क्षेत्रमा पानी पर्दा डुंगा चलाउनुपर्ने गरी पानी जम्ने गरेको छ ।

स्थानीयबासीसँग मुआब्जामा कुरा मिल्न नसक्दा सडक मर्मत हुन सकेको छैन, कालोपत्रेको कुरा त परैको भयो । यस्तै काठमाडौंको कलंकी नागढुंगा सडकको अवस्था पनि उस्तै रहेको छ । सो क्षेत्रमा कहिले कालोपत्रे गरिने हो कुनै ठेगान छैन ।

ठमेलजस्तै पर्यटकीय गन्तव्यको रुपमा रहेको बौद्धनाथ क्षेत्रमा त स्थानीयले लामो समयदेखि विरोध गर्दै आएका थिए । तर, उनीहरुको विरोधको समेत कुनै सुनुवाई भएको छैन । स्थानीयले सडकमै धान रोपे । तर, समस्या समाधानका लागि सरकारी निकायले कुनै ध्यान नदिएको स्थानीयको गुनासो छ ।

राजधानीका भित्री सडकको हालत पनि उस्तै रहेको छ । कही कतै पनि सडक मर्मत सम्भारमा ध्यान दिइएको छैन । काठमाडौंमा मेयर छन् कि छ्रैनन् भन्ने अवस्थाको सिर्जना भएको छ । कुनै पनि काम नहुने हो भने जनप्रतिनिधि हुनु र नहुनको कुनै अर्थ रहँदैन ।

मेयरमा निर्वाचित हुँदा विद्यासुन्दर शाक्यले १०१ योजना कार्यान्वयन गर्ने भन्दै घोषणा गरे । तर, ती योजना कुनै पनि कार्यान्वयन नभएपछि मेयरका योजना केबल गफका लागि मात्रै थिए भन्ने स्थापित भएको छ ।

यस्तै लामो समयदेखि काठमाडौंको फोहोरसमेत उठन सकेको छैन । फोहोर किन उठन सकेन भन्ने बारेमा समेत केही बताइएको छैन । तर, काम गर्न छाडेर मेयर शाक्य भ्रमणमा जान्छन् । उनलाई विदेशको यात्रा पनि उस्तै रमाइलो लाग्छ रे । काठमाडौंको खाल्डा खुल्डी पुर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पटक–पटक निर्देशन दिए । तर, कार्यान्वयन हुन सकेको छैन ।

कर्मचारीतन्त्रमा रहेको काम चोर प्रवृत्तिका कारण खाल्डा खुल्डी सडक पुरिन सकेको छैन । जब पानी पर्न थाल्छ त्यही बेला एकाध मान्छेहरु अलकत्रा बोकेर सडकमा निस्किने गरेका छन् । त्यो कार्यले सरकारलाई नै गिज्याइरहेको अवस्था छ ।