पर्सा, साउन १५ । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५/७५ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ । वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि महानगरपालिकाले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो ।
वीरगञ्ज महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले करको नयाँ दर फिर्ता तथा स्थगन गरिएको जानकारी दिनुभयो ।
उहाँले पेट्रोलिय पदार्थमा लगाइएको कर, घरजग्गा तथा एकीकृत सम्पत्ति कर, पटके सवारी कर, उत्पादन कर, व्यपार कर, कबाडी कर, कुखुरामा कायम गरिएको करलाई स्थगन गरी पुरानै दर कायम गर्ने तयारीमा महानगरपालिका रहेको जानकारी दिनुभयो ।
प्रमुख सरावगीले महानगरपालिकाले हालसम्म शिक्षा र आर्थिकलगायत ११ वटा ऐन पारित गरेको जानकारी पनि दिनुभयो ।
महानगरपालिकाले चालू आवका लागि निर्धारण गरेको करको नयाँ दरको विरोधमा वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा तीन दर्जनभन्दा बढी संघसंस्था र विभिन्न राजनीतिक दल सडकमै उत्रिएपछि वृद्धि गरिएको करलाई महानगरपालिकाले फिर्ता लिने निष्कर्षमा पुगेको हो ।