भिबोर क्यापिटलमा नयाँ संचालक समिति गठन

August 6, 2018 11:28 am

काठमाडौं, साउन २० । भिबोर क्यापिटल लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । लुम्बिनी विकास बैंकको पूर्ण स्वामित्वमा रहेको यस क्यापिटलमा बैंक र नयाँ लगानीकर्ता बिच भएको सम्झौता अनुसार बैंकको बहुसंख्यक शेयर नयाँ लगानीकर्ता समुहको हुने भएको छ ।

भिबोर विकास बैंकको सहायक कम्पनीको रुपमा ८ वर्ष पहिला स्थापना भएको यस क्यापिटल विगत तीन वर्ष देखि संचालन नाफामा रहेकोमा अगामी वर्ष देखि राम्रो व्यवसाय गरि खुद नाफामा जान सक्ने प्रक्षेपण गरिएको छ । निजी क्षेत्रबाट थप भएका शेयरधनीका तर्फबाट समेत गरी साउन १४ गतेबाट लागु हुने गरी नयाँ संचालक समिति गठन गरिएको छ ।

नयाँ लगानीकर्ताबाट प्रतिनिधित्व गरी तुलसी प्रसाद उप्रेती अध्यक्षमा चयन भएका छन् । यस्तै क्यापिटलका अन्य संचालकमा आदर्श राज पाण्डे चयन भएका छन् । लुम्बिनी बिकास बैंकका तर्फबाट दिपक खड्का र हरि कृष्ण सुवेदी कायमै रहेका छन् ।

अध्यक्ष उप्रेती नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा पुरा गरी कार्यकारी निर्देशक पदबाट अवकाश ग्रहण गरेका व्यक्ति हुन् । यसका साथै उनी राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बिमा संस्था, नेपाल बंगलादेश बैंकमा संचालक र पश्चिमाञ्चल ग्रमिण विकास बैंकमा अध्यक्ष पदमा रहेर कार्य गरेको अनुभव छ ।

उप्रेतीले अर्थशास्त्र व्यवस्थापन तथा समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल उनी आर्थिक विकास, व्यवस्थापन विकास तथा लघुवित्त क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरुमा सल्लाहकार तथा परामर्श सेवामा संलग्न छन् ।

साथै, प्रमुख कार्यकारी अधिकृतमा सौरभ तिमिल्सिना नियुक्त भएका छन् । उनीसँग संयुक्त राज्य अमेरिका र थाइल्याण्डमा वित्तिय व्यवस्थापनमा उच्च शिक्षा हासिल गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थामा कार्य गरेको अनुभव छ ।