घलेम्दी हाईड्रोको साढे ५ लाख कित्ता आईपीओ भर्ने आज अन्तिम दिन

August 6, 2018 11:02 am

काठमाडौं, साउन २० । घलेम्दी हाईड्रो लिमिटेड (Ghalemdi Hydro Ltd.) को ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाको साढे ५ लाख कित्ता साधारण शेयर (आईपीओ) भर्ने आज साउन २० गते अन्तिम दिन रहेको छ । यो कम्पनीले आगामी असार २२ देखि छिटोमा साउन ४ र ढिलोमा साउन २० गतेभित्र आवेदन दिनुपर्ने गरी आयोजना प्रभावित क्षेत्र म्याग्दी स्थित अन्नपूर्ण गाउँपालिकाका स्थानीयको लागि आईपीओ जारी भएको छ ।

न्युनतम ५० देखि अधिकतम २७५० कित्तासम्म आवेदन दिन पाइने यो कम्पनीको शेयर खरिद पछि कम्तिमा ३ वर्ष बिक्री गर्न नपाउने सर्त राखेर शेयर आवेदन माग गरिएको छ ।

पहिलो चरणमा आयोजना प्रभावितका लागि शेयर जारी गरेको यो कम्पनीले अझै ११ लाख कित्ता शेयर सर्वसाधारणको लाग निष्काशन गर्ने छ ।

यो कम्पनीको जारी पुँजी ५५ करोडमध्ये संस्थापकले ३८ करोड रुपैयाँ संस्थापकबाट जम्मा भएको छ । हाल आयोजना प्रभावितलाई साढे ५ लाख कित्ता शेयर जारी गरेको यो कम्पनीले यसपछि पुनः सूचना निकालेर ११ लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने छ ।

आईपीओलाई इक्रा नेपालले ग्रेड फोरको मान्यता दिएको छ । आयोजनाको अनुमानित लागत ९४ करोड रुपैयाँ छ । प्रतिमेगावाट लागत १८ करोड ८० लाख रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षसम्म कर्जा चुक्ता गर्ने पनि घलेम्दीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

यसको शेयर आवेदन दिन म्याग्दीको ग्लोबल आइएमई बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, माछापुच्छ्र बैंक र अयोजना प्रभावितलाई तोकिएको स्थानबाट शेयर आवेदन दिन पाइने छ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक भिवोर क्यापिटल लिमिटेड हो ।