वाणिज्य र विकास बैंकमा जागिरको बग्रेल्ती अवसर, कुनमा कतिजना माग ?

August 6, 2018 1:47 pm

काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरु सेवा बिस्तारको क्रममा शाखा सञ्जाल बढाउने होडबाजीमा छन् । नेपाल सरकारले समेत हरेक जनताको बैंक खाता अनिवार्य गरिदिएसँगै दूरदराजमा समेत बैंकका शाखाहरु खुल्न थालेका छन् ।

सरकारले सबै स्थानीय निकायमा बैंक पुर्याउने रणनीति लिएपछि कतिपयलाई दुर्गमसम्म जाने बाध्यता समेत थपिदिएको छ । यसले बैंकका शाखाहरुको वृद्धि तीव्र गतिमा भइरहेको छ । बैंकहरुको शाखा जुन हिसाबले बढिरहेको छ, त्यही रफ्तारमा बैंकमा जागिरहरुको अवसर समेत बग्रेल्ती खुल्न थालेका छन् । दैनिकजसो ठूलादेखि साना बैंक तथा बित्तीय संस्थाले कर्मचारी माग गर्दै आवश्यकता सम्बन्धी प्रकाशित गरिएका सूचना बग्रेल्ती देख्न पाइन्छ ।

यही क्रममा आइतबार समेत केही बैंकहरुले यस्तै सूचनामार्फत निकै ठूलो संख्यामा कर्मचारी मागेका छन् । सबैभन्दा बढी राष्टिय स्तरको ज्योति विकास बैंकले जागिरको अवसर खुलाएको छ ।

ज्योति विकास बैंकले ४० जना ब्राञ्च म्यानेजर मागेको छ । यस्तै, ४० जनाको संख्यामै रिलेसनसीप म्यानेजर तथा अपरेसन इञ्चार्ज समेत माग गरिएको छ ।

बारा, उदयपुर, सर्लाही, स्याङ्जा, सुनसरी, सिन्धुली, रुपन्देही, पाल्पा, नवलपुर, काभ्रे, कास्की, कपिलवस्तु, कञ्चनपुर, ललितपुर, काठमाण्डौ, भक्तपुर, सल्यान, तनहुँ, सप्तरी र कैलाली जिल्लाका लागि ब्राञ्च म्यानेजर माग गरिएको हो ।