बंगलादेश एयरलाइन्समा चरम श्रमशोषण, २६ वर्षदेखि काम गर्नेको तलब मात्र ५ हजार !

August 6, 2018 1:26 pm

काठमाडौं । विमान बंगलादेश एयरलाइन्सले विगत नौवर्षदेखि काम गर्दै आएका नेपाली श्रमिकलाई महिनाको जम्मा ३५ सय तलब दिन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर यो वास्तविक कुरा हो ।

देवी थापा, जो विगत नौ वर्षदेखि विमान बंगलादेश एयरलाईन्समा काम गर्दै आएकी छिन् । उनको मासिक तलब जम्मा पैंतिस सय रुपैंया रहेको छ । त्यो पनि पेट्रोल खर्च भनेर थपेर दिने गरेको हो । उनको तलबकै कुरा गर्ने हो भने मासिक दुई हजार मात्रै हो । उनले भनिन्-‘९ वर्ष भयो काम मैले गरेको । २ हजार तलब छ, पेट्रोलबाट मिलाएर भनेर जम्मा ३५ सय दिन्छ । भत्ता लगायत अरु केहि छैन । दशैंमा पनि केहि दिंदैन । तलब बढ्छ भन्ने आश्वासन दिन्छ तर झुलाएर राख्छ ।’

श्रमिकमाथि एयरलाईन्सले चरम श्रमशोषण गरेपछि पर्यटन श्रमिक संगठन नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ)को नेतृत्वमा एयरलाईन्सको मुख्य कार्यालयमा बिहीबारबाट अनिश्चितकालिन हड्ताल शुरु भएपछि उक्त विषय बाहिर आएको हो ।

हड्तालमा उत्रेकी थापाले भनिन्-‘हाम्रो माग भनेको दुःख गरेअनुसार दुःखको फल मिलोस् भन्ने हो । आश गरेर कति दिन बाँच्ने । लिखित, मौखिकरुपमा पटक पटक भन्दापनि सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रेका हौं ।’

उनीमात्र होईन, विगत २६ वर्षदेखि सोहि एयरलाईन्समा काम गर्दै आएका गुञ्जबहादुर श्रेष्ठले महिनामा जम्मा ५ हजार तलब बुझ्छन् । उनी भन्छन्-‘हुन्छ–हुन्छ भनेर आशा देखाउँछ । २ वर्षमै अर्को व्यक्ति परिवर्तन हुन्छ । हामी त हेरेको हेर्यै ।’ उनले गहभरी आँसु पार्दै भने-‘हुन्छक्यारे भन्ने आशमा आमाले दूध नखुवाएपछि बच्चा रुन्छ तर रोएपनि हामीले सुख पाएनौं । २६ वर्ष बढी भयो काम गरेको तर खाना नपुगेर हड्तालमा उत्रिन बाध्य भयौं ।’

उनलाई दिनको दुई घण्टा काम गरेबापत दैनिक ज्याला २ सय रुपैंया दिन्छु भनेर राखेपनि व्यवस्थापनले दिनको सोह्र घण्टासम्म काम लगाउने गरेको छ । उनले दुखेसो गर्दै भने-‘दिनहुँ २ घण्टा काम गरेबापत २ सय रुपैंया दिन्छु भनेर काम गरेको तर न्यूनत्तम १२ घण्टा देखि १६ घण्टासम्म काम लगाउँछ । कार्यालयको रेखदेख देखि कार्यालय खोल्ने, चेक साट्ने काम गर्छु । एकैचोटी ३२ लाख रुपैंया सम्मको चेक साट्नसमेत जान्छु तर आफ्नो ब्यथा आफैंसँग छ ।’

उनलाई तलब दिंदा व्यवस्थापन पक्षले एउटा कागजमा हस्ताक्षर गराउनेमात्र गरेको उनले बताए ।एयरलाइन्सको कर्मचारी हो भनेर पत्रसमेत नदिएको उनको गुनासो छ ।

उक्त एयरलाइन्समा काम गर्दै आएका कृष्ण भण्डारीले एयरलाइन्समा काम गर्दै आएका १० नेपाली श्रमिकको चरम श्रमशोषण भईरहेको बताए ।

श्रमिकहरुलाई ओभरटाईम काम लगाउने, ओभरटाईमको पैसा पनि नदिने, काम ढिला भएर राति भयो भने आफ्नै खर्चमा ट्याक्सी लिएर घर जानुपर्ने, कुनै पनि सेवा सुविधा नभएको र कर्मचारीहरुको नियुक्तिपत्र समेत नदिएको विगत ६ वर्षदेखि काम गर्दै आएका एयरलाईन्सका ट्राफिक सुपरभाईजर सुरेश खतिवडाले बताए ।

त्यस्तै श्रमिकहरुलाई कुनैपनि सार्वजनिक बिदा पनि नदिने गरेको हड्तालमा उत्रिएका श्रमिकहरुले बताए ।

सरकारले दिएको न्यूनत्तम सेवा सुबिधा र शर्तअनुसार एयरलाइन्सले काम नगरेको पाईएपछि हड्तालमा उत्रन बाध्य भएको भन्दै यूनिट्राभका अध्यक्ष सुमन पराजुलीले वार्ताबाट माग पूरा नगरे एयरलाईन्सको मुख्य कार्यालयमा तालाबन्दी गरिदिने चेतावनी दिएका छन् ।