वाइड बडी ‘अन्नपूर्ण’को पहिलो उडान दोहामा

August 6, 2018 1:25 pm

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले यही साउन १६ गते देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सो विमानलाई उडान अनुमति (एओसी) प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा तीन उडान गर्नेछ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमानले पुरानो गन्तव्य कतारको राजधानी दोहाबाट आफ्नो पहिलो उडान भर्न लागेको निगमले जनाएको छ । दोहाका लागि निगमको २७४ सिट नै भरिसकेको छ ।

“दोहा उडानका लागि निगमले आज नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट उडान अनुमतिपत्र (एओसी) पाएको हो”, महाप्रबन्धक कंसाकारले भन्नुभयो । “प्राधिकरणबाट आज अनुमति पाएका छौँ, भोलि मंगलबारसम्म सबै प्रक्रिया पूरा गरेर व्यावसायिक उडान शुरु गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

वाइड बडीले भारतको नयाँ दिल्ली परीक्षण उडान ‘पुफिङ फ्लाइट’ गरिसकेको छ । पहिलो वाइड बडी गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले उक्त जहाज गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरिसकेको जनाएको छ ।

‘अन्नपूर्ण’ नाम दिइएको सो जहाज गत असार १४ गते काठमाडौँ अवतरण भएको थियो । निगमले वाइड बडी ए ३३०–२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ ।

अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको छाता संगठन (आइकाआ)ले व्यावसायिक उडान अघि परीक्षण उडान गर्नुपर्ने व्यवस्थाअनुसार सो प्रक्रियासमेत पूरा भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिशमा नै निगमको बाइड बडी जहाजले त्यस्तो उडान गरेको हो । निगमले उडानका लागि सबै प्रक्रिया पूरा गरेको छ । उक्त उडानमा निगमका प्राविधिक तथा अधिकारी सहभागी थिए ।

यस्तै निगमको ‘मकालु’ नाम राखिएको वाइड बडी जहाज यही साउन ११ गते काठमाडौँमा अवतरण भइसकेको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाज आइसकेको र उडान अनुमतिका लागि तयारी हालतमा छ । बढीमा अबको दुई साताभित्र त्यस्तो अनुमति प्राप्त हुनेछ ।

नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । नयाँ विमान दोहा र दुबईमा उडाउने तयारी गरिएको र निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको छ ।

निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ ।