युएईमा नेपाली सामान कहिले ?

March 17, 2021 10:42 am

लक्ष्मण सापकोटा, युएई-

आफु जुन देशमा जन्मीयो, हुर्कियो त्यो देशको नागरिकलाई जतिसुकै सम्पन्न मुलुकमा पुगेपनि आफ्नै देशको माया बढी लाग्छ । स्वदेशमा रहँदा जति माया हुन्छ मातृभूमिको, विदेशमा पुगेपछि त्यो अझ बढ्दो रहेछ । आफु जन्मेको, खेलेको, हुर्केको ठाउँ नै स्वर्ग झैं लाग्छ । त्यसैले त यो श्लोक आज पनि उत्तिकै सान्दर्भिक छ “जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ।”

पछिल्लो समय नेपालमा रोजगारीको अवसर कम भएका कारण वा रोजगारीका अवशर चिन्न र ति रोजगारी तर्फ आकर्षित नभएका कारणले नेपाल छोडेर रोजगारको सिलशिलामा विदेशिने क्रम वढेको छ । सरकारले रोजगारीका लागि खुल्ला गरेका ११० मुलुक मध्ये प्रमुख गन्तब्यमा पर्दछ संयुक्त अरव इमीरेन्ट्स(युएई) । सुरक्षाको हिसावले र यहाँको सरकारले कामदारको लागि वनाएको कानुनले गर्दा पनि युएई प्रतिको आकर्षण वढेको हो ।

युएईमा ४ लाखको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत छन् र यो संख्या दिनप्रतिदिन वढ्दो छ । नेपालीहरु युएईमा सुरक्षा गार्ड, सवारी चालक, निर्माण क्षेत्र, कृषि क्षेत्रसँगै होटल, हाईपर मार्केट, सुपरमार्केट, सर्पीङ सेन्टर लगायतका ब्यवसायीक कम्पनिहरुमा विभिन्न पदमा रहेर काम गर्छन् ।

केही महिना अगाडीको कुरा हो मेरो एकजना नजिकको साथीले युएई वसाईको अनुभव सुनाउँदै भनेका थिए, नेपाल छोडेर विदेशको यात्रा तय गरेपछि परिवारसंगै देशप्रतिको माया धेरै नै वढेर आउदो रहेछ । युएई आएको १ महिनासम्म त यहाँ घुलमील हुनै समय लाग्यो त्यसमाथी आफ्नो देश गाउँठाउँको सम्झना मानसपटलमा घुमिरहेको थियो । मैले सोचें विदेश आएपछि आफ्नो गाउँठाउँको सम्झनाको अनुभव सवैको उस्तै त रहेछ । त्यति वेला दशैं नजिकिदै थियो । हामी घुमफिर र केही किनमेलको लागि हिंडेका थियौं । किनमेलकै क्रममा कुरा निस्कीयो हामीलाई चाहिने नेपालमा उत्पादीत सामानहरु पनि यहाँ पाउने भए यहाँ कार्यरत सवै नेपालीलाई कति सजिलो हुन्थ्यो होला है ? विशेषगरी चाडपर्वको वेलामा केही सामान चाहीयो भने नेपालवाटै मगाउनु पर्दछ । मैले पनि साथीको कुरामा सहमति जनाएँ । एकछिन पछि वाहीर निस्कीदा मनमा कुरा खेलीरह्यो के नेपालको उत्पादन युएईमा चल्दैनन र ? किन यस विषयमा चासो नदेखाइएको होला ? के नेपाली उत्पादन युएईमा ल्याउन सकिदैन र ? यति धेरै नेपालीहरु छन् यहाँ सवै नेपालीले नेपालको उत्पादनलाई उपभोग गरे भने किन नचल्ने, नेपालको उत्पादन नेपाली समुदायले मात्रै होईन युएईको वजारमा उपलब्ध भएपछि अरु देशका नागरीकले पनि अवश्य प्रयोग गर्लान् । यस्तै यस्तै प्र्रश्न मनमा खेलीरहे ।

नेपाल र युएईविच कुटनीतिक सम्वन्ध विस्तार भएको पनि ४० वर्ष पुगिसकेको छ । ४० वर्षको अवधीमा अहिलेसम्म नेपाली उत्पादन युएईमा ल्याउनको लागि सरकारले त्यस्तो ठोस कदम चालेको देखिएको छैन । वेलावेलामा युएईमा हुने गोष्ठी, सभा, सम्मेलन र अन्य कार्यक्रममा यस विषयमा कुरा उठीरहन्छन् । युएईमा ठूलो संख्यामा रहेका आप्रवासी कामदारमा फिलीपिन्स, भारत, पाकिस्तान, नेपाल, वंगलादेश, श्रीलंका लगायतका देशका श्रमिकहरु छन् । अन्य देशले युएईमा ठूलो परिमाणमा आफ्नो उत्पादन निर्यात गर्दछन् भने नेपालले नगन्य रुपमा युएईमा आफ्नो उत्पादन पठाउने गर्दछ । तथ्याङ्क अनुसार युएईवाट वार्षिक पाँच दशमलव एक (५.१) प्रतिशत सामान नेपाल आयात हुन्छ भने नेपालवाट युएईमा शुन्य दशमलव चार (०.४) प्रतिशत मात्रै सामान निर्यात हुन्छ ।

नेपालले युएईमा निर्यात गर्न सक्ने मुख्य उत्पादनमा कृषि उत्पादन हो । नेपालमा धेरै नेपालीहरु कृषि पेशामा आवद्ध भएको र युएई खाडी मुलुक भएकोले यहाँ कृषि उत्पादन त्यती नहुने भएकोले नेपालले युएईमा कृषि उत्पादन निर्यात गर्न सक्छ । कृषि उत्पादन वाहेक अन्य उत्पादनमा गलैंचा, जुत्ता, ढाका लगायतका उत्पादन पनि निर्यात गर्न सक्ने सम्भावना देखिन्छ । युएईले पहिले देखी नै नेपालीहरुलाई रोजगार, ब्यापार ब्यवसाय गर्न अवसर प्रदान गर्दै आइरहेको छ । रोजगारीका लागि युएईमा रहेका नेपालीहरुले पछिल्लो समय युएईमा ब्यवसाय गरेर नेपाली उत्पादन प्रवद्र्धनको प्रयास गरिरहेका छन् । विशेषगरी नेपालीले यहाँ रेष्टुरेण्ट ब्यवसाय धेरै गरेको पाईएको छ । यहाँका नेपालीहरुको पनि नेपालले ब्यवसायीक रुपमा युएईमा नेपाली उत्पादन निर्यात गरिदियोस भन्ने चाहना छ ।

नेपाली उत्पादन युएईमा ल्याउनको लागि यसको सम्भावनाको विषयमा केही महिना अगाडी युएईस्थित नेपाली दुतावासले पनि एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाली उत्पादन युएईमा ल्याउनको लागि नेपाली ब्यवसायीहरुलाई आग्रह गरिएको थियो र नेपाली दुतावासले पनि ब्यवसायीलाई उत्पादन प्रवद्र्धनको लागि जोड दिएको थियो । यसै सम्वन्धमा दुतावासका कार्यवाहक राजदुत नेत्रवहादुर टन्डनसंग कुराकानी गर्दा उहाँले हामीले फोरम उपलब्ध गराउने हो र नेपाली उत्पादन युएईको वजारमा ल्याउनको लागि नेपाली ब्यवसायीहरु नै अगाडी आउनुपर्छ भन्नुभएको थियो ।

युएईको सरकारले नेपाललाई ब्यापारको अवसरण प्रदान गरेपनि नेपालले अहिलेसम्म ब्यवसायीक रुपमा नेपाली उत्पादन निर्यात गर्न नसकेको यो अवस्थामा सरकारले नेपाली उप्पादन युएईमा ल्याउनको लागि ठोस पहल गर्न जरुरी छ । ब्यवसायीक रुपमा नेपाली उत्पादन युएई भित्रियाउन सकेमा यसले देशलाई अझ ठूलो फाइदा पुग्न सक्दछ । आशा गरौ सरकारले नेपाली उत्पादन युएईमा भित्रियाउन ठोस पहल चाँडै गर्नेछ र हामीले युएईमै वसेर नेपाली उत्पादन उपभोग गर्न पाउनेछौ ।