माथिल्लो निकायको निर्देशनमा निम्बसको खानेतेल उद्योगमा सिलबन्दी, तेल बेच्न समेत रोक

August 30, 2018 12:12 pm

वीरगंज।माथिल्लो निकायको निर्देशन भन्दै निम्बस समूहले उत्पादन गरेको खानेतेलमा जिल्ला प्रशासन कार्यालयले उद्योगमा सिलबन्दी गरेको छ।

यो समूहले दुर्इ वर्षअघि ब्यञ्जन ब्राण्डमा सूर्यमूखी र तोरीको तेल उत्पादन थालेको थियो।माथिल्लो निकायको निर्देशन आएपछि जिल्ला प्रशासन कार्यालय टोलीले तेल उद्योगमा सिलबन्दी गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।गत साउन २३ गते उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्योग निरीक्षण गर्दै चार वटा नमूना लिन लगाएका थिए।

त्यही नमूनामा अत्याधिक ‘फ्याटी एसिड’ भेटिएको भन्दै उद्योगमा सिलबन्दी लगाएर उत्पादन बिक्री वितरणमा रोक लगाएको उनले बताए। विहिबार साँझ ४ बजे सहायक प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा वीरगंज –२१ लिपनीविर्तामा रहेको उद्योगमा सिलबन्दी गरेको हो।

वाणिज्य,उद्योग,आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक योगेन्द्र गौचनले पर्साका प्रमुख जिल्ला अधिकारीलाई उद्योगमा सिलबन्दी गर्न पत्राचार गरेपछि पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले उद्योगमा टोली पठाएका थिए ।