डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी

September 24, 2018 12:36 pm

पाल्पा। डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागारी दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । नेपाल डेरी एशोसिएशन केन्द्रीय समितिका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा डेरी उद्योगमा लगानी बढ्दा बेरोजगार युवाले डेरीबाट रोजगार पाउन सफल भएको बताए । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको सङ्ख्या बर्सेनी बढेको हो ।

पछिल्ला वर्ष विदेशबाट फर्केका र शिक्षित युवाको पशुपालन पेशामा आकर्षण बढेपछि डेरी उद्योग फस्टाएको छ । डेरी उद्योग फस्टाउँदा उपभोक्ताले घरघरमा दूध पाउन थालेका हुन् ।

डेरी उद्योगको विकासका लागि २० अर्बभन्दा बढी लगानी रहेको र दैनिक ५० हजार लाख लिटर दूध उत्पादन हुनेमा फर्मल सेक्टरमा १७ र इनफर्मलमा ३३ प्रतिशत र किसान स्वयंले उपभोग गर्ने ५० प्रतिशत दूध खर्च हुने गरेको उनको भनार्इ छ।

महासचिव प्रल्हाद दाहालका अनुसार दैनिक तीन करोड रूपैयाँभन्दा बढी रकम शहरबाट गाउँमा प्रवाह हुँदै आएको छ । वार्षिक एक अर्ब राजश्व डेरी क्षेत्रबाट सरकारलाई बुझाउने गरिएको महासचिव दाहालको भनाइ छ ।