चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाको खोप नेपाल आइपुग्यो

March 29, 2021 12:36 pm

काठमाण्डौ ,चैत १६
चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको जहाजमा खोप नेपाल आइपुगेको हो । खोप र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज हिजो चीनको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।

चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोपको ८ लाख डोज नेपाललाई अनुदानमा आएको हो । यो खोप पनि कोभिसिल्ड जस्तै दुई मात्रामा लगाउनुपर्ने छ । यो खोप कसरी र कस्ता व्यक्तिका लागि लगाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको छ ।

पहिलो डोज लगाएकाले दोस्रो डोज पनि त्यही कम्पनीको खोप लगाउनु पर्ने भएकाले चीनबाट ल्याउने यो खोप, खोप नलगाएकाहरुलाई दिइने छ ।