चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा

April 10, 2021 8:07 pm

चितवन,चैत २८
चितवन सहित देशभर भएको गैडा गणनाको तथ्याङ्क सार्वजनिक भएको छ । शनिवार सार्वजनिक गरिएको तथ्याङ्कमा चितवनमा सवैभन्दा धेरै ६९४ गैडा रहेको तथ्याङ्कले देखाएको छ । चितवन वाहेक देशका अन्य निकुञ्जमा जम्मा ५८ वटा मात्र गैडा भेटीएको छ ।

पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा थपिदै गैंडाको संख्या ७५२ पुगेको छ । नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिनुभयो । यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए ।

शुक्रबार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा भेटिएका छन् । यो सङ्ख्या सन् २०१५ मा गरिएको गणना अनुसार चितवनमा ६०५ गैडा थियो भने अहिले त्यो संख्या वढेर ६९४ पुगेको हो । चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैँडा भेटिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैँडा र पर्सा राष्ट्रिय निकुञ्जमा तीन मात्रै गैँडा फेला परेको छ । अघिल्लो गणनामा पर्सामा चार वटा गैँडा पाइएको थियो ।