सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

December 28, 2022 7:24 pm

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटारमा सरेका छन्। प्रधानमन्त्रीमा शपथ लिएको तेस्रो दिन बुधबार साँझ प्रचण्ड खुमलटारबाट बालुवाटार प्रवेश गरेका हुन्। बालुवाटारमा उनलाई कर्मचारी, सुरक्षाकर्मी लगायतले स्वागत गरेका थिए भने प्रधानमन्त्रीको सम्मानमा सलामी अर्पण गरिएको थियो।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान मात्रै बालुवाटार छोडेका थिए। आइतबार प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाल देशको ४४ औँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

उनको यो तेस्रो कार्यकाल हो। काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुटाउँदै एमालेसहित ७ दलीय समीकरण बनाएर प्रचण्ड आइतबार प्रधानमन्त्री बनेका हुन्। प्रतिनिधिसभाका २७५ मध्ये एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र ३ गरी १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

उनले यसअघि २०६५ र २०७३ मा ९-९ महिना प्रधानमन्त्री बनेका थिए। यसपालि भने अढाई वर्ष प्रधानमन्त्री हुने र त्यसपछि एमालेलाई छाड्ने सहमति छ।