भिजन भएको नेताले मात्र देश बनाउन सक्छ : उपाध्यक्ष पाण्डे

November 11, 2022 5:04 pm

रत्ननगर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भिजन भएको मान्छेले मात्र देशलाई सही गतिमा लैजान सक्ने बताएका छन् । चितवन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका पाण्डेले नयाँ मान्छेले नभई भिजन भएको नेताले मात्र देश बनाउन सक्ने बताए । चुनावी अभियान अन्तर्गत रत्ननगरको टाँडी बजारमा आयोजित कोणसभामा उनले देश बनाउन सक्ने क्षमता आफुमा रहेको दावी गरे । देशका अन्य निर्वाचन क्षेत्रमा भन्दा चितवन एकमा विकास बढी भएको भन्दै उनले अन्य निर्वाचन क्षेत्रसंग तुलना गर्दा चितवन क्षेत्र नं १ अग्रस्थानमा आउने बताए । पहुँच र प्रभावले मात्र निर्वाचन क्षेत्रमा बजेट आउने भन्दै उनले आफु त्यसका लागि सक्षम रहेको बताए । नेता पाण्डेले अर्थमन्त्री हुँदा फाष्टट्याक निर्माण सुरुवात आफु सुरु गरेको बताए । राष्ट्रिय स्तरका योजना देखि निर्वाचन क्षेत्रमा पूर्वाधार निर्माणमा ध्यान दिएको उनको भनाई छ । नेता पाण्डेले शेरबहादुर देउवा नेतृत्वको सरकारका कारण देशमा आर्थिक संकट पैदा भएको बताए । ओली सरकारको बेलामा आर्थिक तरलता थिएन उनले भने अहिलेको सरकारको आर्थिक नीतिका कारण देशमा आर्थिक संकट पैदा भएको छ । नेता पाण्डेले पूर्वी चितवनलाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने बताए । रत्ननगरको टाँडीलाई केन्द्र विन्दुमा राखेर पूर्वी चितवनको आर्थिक विकासको केन्द्र बनाउने उनको भनाई छ । प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल शैलेसले एमालेको जितलाई गठबन्धनले रोक्न नसक्ने बताए । नेताको गठबन्धन हो उनले भने मतदाता भोट हाल्न स्वतन्त्र छन्,चुनाव एमालेले जित्छ । उम्मेदवार पाण्डेले शुक्रवार राप्ती,खैरहनी र रत्ननगरका मतदातालाई भेटघाट गरी भोट मागेका छन् । भोट माग्न घरदैलोमा रहेका मतदाताले नेता पाण्डेलाई घरघरमै स्वागत गरेका छन् । यता प्रदेश सभा सदस्य पदका उम्मेदवार खनाललाई पनि रत्ननगरका मतदाताहरुले भब्य स्वागत गरेका छन् ।