खराब मौसमका कारण भरतपुरको आन्तरिक उडान प्रभावित

January 20, 2022 3:13 pm

चितवन। खराब मौसमका कारण भरतपुरको आन्तरिक हवाई उडानहरु प्रभावित भएका छन् । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण भरतपुरबाट हुने उडान यो समाचार तयार पार्दासम्म हुन सकेको छैन । तराई क्षेत्रका तीन वटा र हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न सकेका छैनन् ।

त्रिभुवन विमानस्थलका अनुसार विराटनगर विमानस्थल, भरतपुर विमानस्थल र भैरहवा विमानस्थल खराब मौसमकै कारण अहिलेसम्म खुल्न सकेका छैनन् ।

यता सिमरा विमानस्थल भने मौसममा क्रमिक सुधार भएसँगै खुलेको छ । यस्तै, लुक्ला, फाप्लु, सिमीकोट, डोल्पा र रारामा भन हिमपातका कारण उडानहरु प्रभावित भएका छन् ।
काठमाडौंको अवस्था ठीक रहेको छ भने जनकपुर, नेपालगञ्ज, चन्द्रगढी, सुर्खेत, पोखरा र तुम्लिङटार विमानस्थलको अवस्था सामान्य रहेको छ ।